काठमाडौं– कुमारी बैंक लिमिटेडको गत आर्थिक वर्षमा दुई अर्ब ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको तुलनामा ७२.७४ प्रतिशतले बढी हो ।
बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको अन्तिम त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद ब्याज आम्दानी, अन्य सञ्चालन आम्दानी र सञ्चालन मुनाफा बढेका कारण खुद नाफा बढेको हो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४६.५६ प्रतिशतले बढेको छ भने खुद फिस तथा कमिसन आम्दानी ५६.९८ प्रतिशत बढेको छ । बैंकको सञ्चालन मुनाफा ६९.१६ प्रतिशत बढेको वित्तीय विवरणमा उल्लेख छ ।
गत असार मसान्तमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ९ करोड ४२ लाख रुपैयाँ छ । खुद नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । अघिल्लो वर्ष ९ रुपैयाँ २५ पैसा रहेको प्रतिसेयर आम्दानी यसपालि १४ रुपैयाा ४२ पैसा पुगेको छ ।
कुमारी बैंकले गत वर्ष १०.८५ प्रतिशत बोनस सेयर वितरण गरी चुक्ता पुँजी बढाएको थियो ।
प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ८९ पैसा रहेको कुमारीको असार मसान्तको मूल्य आम्दानी अनुपात २५.७२ गुणा छ । कुमारीको जगेडा कोष अघिल्लो वर्षको तुलनामा ७.८३ प्रतिशतले, निक्षेप २७.५८ प्रतिशतले र कर्जा २४.६४ प्रतिशतले बढेको छ ।









