काठमाडौं– जीवन बिमा कम्पनी प्राइफ लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष ०७७–७८ मा ३० करोड ८२ लाख ८२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३.२५ प्रतिशतले बढी हो ।
आर्थिक वर्ष ०६७–७७ मा यो कम्पनीको खुद मुनाफा २९ करोड ८५ लाख ६४ हजार रुपैयाँ थियो । कम्पनीले शुक्रबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत असार मसान्तसम्ममा कम्पनीको चुक्ता पुँजी २ अर्ब ४१ करोड ७० लाख ५७ हजार रुपैयाँ छ । यो अघिल्लो वर्ष असार मसान्तको तुलनामा ७ प्रतिशतलेबढी हो ।
कम्पनीको गत आर्थिक वर्षको प्रतिसेयर आम्दानी १२ रुपैयाँ छ । प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ पुगेको छ । कम्पनीको जीवन बिमा कोष २८.०५ प्रतिशत बढेर १४ अर्ब ६९ करोड ५७ लाख ५४ हजार रुपैयाँ पुगेको वित्तीय विरणमा उल्लेख छ । यसको जगेडा कोष भने २२.१६ प्रतिशत घटेर ६९ करोड २६ लाख २१ हजार रुपैयाँमा सीमित भएको छ ।
गत आर्थिक वर्षमा कम्पनीले खुद बिमा शुल्क आर्जन २२.११ प्रतिशत बढाएर ३ अर्ब ९८ करोड ४० लाख ४६ हजार रुपैयाँ पुर्याएको छ । यसको कुल बिमा शुल्कको आकार बढेर गत असार मसान्तमा ४ अर्ब ४ करोड १० लाख ६७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो असार मसान्तको तुलनामा यो वृद्धि २२.४५ प्रतिशत हो ।
कम्पनीको दीर्घकालीन लगानी तथा कर्जा २५.०९ प्रतिशत बढेर १३ अर्ब ६० करोड ४६ लाख ७७ हजार रुपैयाँ पुगेको छ भने बिमालेख धितो कर्जा १ अर्ब ४६ करोड १४ लाख ९ हजार रुपैयाँ पुगेको छ । कम्पनीको बिमालेख संख्या भने २३.२६ प्रतिशतले घटेर २ लाख २२ हजारमा सीमित भएको वित्तीय विवरणमा उल्लेख छ ।









