काठमाडौं– एनआइसी एसिया बैंकले गत आर्थिक वर्ष २०७७–७८ मा व्यवसायमा ऐतिहासिक वृद्धि गरी अधिकांश वित्तीय तथा गैरवित्तीय सूचकांकहरूमा अग्रणी स्थान हासिल गरेको छ ।

उक्त बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार उसको कर्जा अघिल्लो वर्षको तुलनामा ९१ अर्बले बढेर २६५ अर्ब पुगेको छ । बैंकले यसलाई बाँकी २७ वटै वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै भनेको छ ।

मुलुकका वाणिज्य बैंकहरूमा सोही अवधिमा भएको करिब ७१९ अर्ब कुल कर्जा वृद्धिमा यस बैंकको सर्वाधिक उच्च (१२.६६ प्रतिशत) बजार हिस्सा रहेको बताइएको छ । आर्थिक वर्ष ०७७–७८ मा वाणिज्य बैंकहरुमा भएको कुल कर्जा वृद्धिको औसत प्रतिबैंक कर्जा वृद्धि रकम करिब २४.१५ अर्बको तुलनामा यस बैंकको वृद्धि करिब ३.७६ गुणा छ ।

यसैगरी बैंकको स्वदेशी मुद्राको निक्षेपतर्फ करिब ९० अर्बले वृद्धि भई कुल स्वदेशी मुद्राको निक्षेप संकलन २९८ अर्ब पुगेको छ । यो पनि २७ वटै वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै हो । मुलुकका वाणिज्य बैंकहरूमा सोही अवधिमा भएको करिब ६५५ अर्बको कुल वृद्धिमा यस बैंकको हिस्सा १३.५८ प्रतिशत छ । आर्थिक वर्ष ०७७–७८ मा वाणिज्य बैंकहरुमा भएको निक्षेप वृद्धिको औसत प्रतिबैंक निक्षेप वृद्धि करिब २१.७३ अर्बको तुलनामा एनआइसीको वृद्धि करिब ४.१४ गुणा छ । बैंकले आव २०७७–७८ मा ३ अर्ब २५ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ भने वार्षिक प्रतिशेयर आम्दानी २८ रुपैयाँ ११ पैसा पुर्याएको छ । त्यसैगरी, बैंकको स्व–पुँजीमा प्रतिफल (आरओई) १७.१४ प्रतिशत छ, जुन वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी भएको अनुमान गरिएको छ । अघिल्लो आव २०७६–७७ मा समेत यस बैंकको आरओई वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढीे थियो ।

बैंकले आफ्नो रणनीति अनुसार कर्जा पोर्टफोलियोमा न्यून जोखिम कायम गर्ने उद्देश्यले इन्टरप्राइज लेवल रिस्क म्यानेजमेन्ट एप्रोच अवलम्बन गर्दै साना तथा मझौला कर्जा र रिटेल कर्जामा लगानी विस्तार गर्ने नीति अंगीकार गरेको फलस्वरुप कोभिड–१९ को विषम परिस्थितिका बाबजुद कर्जा असुलीतर्फ पनि निकै उत्साहजनक नतिजा हासिल भएको जनाएको छ । यसैको फलस्वरुप आव २०७६–७७ को अन्त्यमा ०.७५ प्रतिशत रहेको निष्क्रिय कर्जा आव २०७७–७८ को चौथो त्रैमाससम्ममा ०.४६ प्रतिशतमा झरेको बैंकले जनाएको छ ।

‘गत आर्थिक वर्षसम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८६ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा विस्तार गरेको छ । साना तथा मझौला र कृषि कर्जा लगानीमा मुलुकका अन्य वाणिज्य बैंकहरू भन्दा यस बैंक अग्रणी स्थानमा रहेको छ,’ एनआइसी एसियाको विज्ञप्तिमा भनिएको छ, ‘बैंकले अवलम्बन गरेको अब्बल जोखिम व्यवस्थापन रणनीतिको परिणाम स्वरूप बैंकका प्रमुख १० ग्राहकको कुल कर्जा अंश बैंकको कुल कर्जाको ३.७ प्रतिशत मात्रै छ र सो समग्र बैंकिङ क्षेत्रकै सबैभन्दा उत्कृष्टमा पर्दछ ।’

गत असार मसान्तसम्ममा बैंकको ग्राहक संख्या २८ लाख २७ हजार नाघेको छ । यो निजी क्षेत्रका वाणिज्य बैंकहरूको तुलनामा सबैभन्दा बढी रहेको विज्ञप्तिमा उल्लेख छ ।
असार मसान्तसम्ममा यो बैंकको शाखा संख्या ३५६ पुगेको छ । यसका अलावा एनआइसी एसियाले ४७१ एटिएम, ७० विस्तारित काउन्टर तथा ८१ शाखा रहित बैंकिङ एकाइबाट सेवा दिइरहेको छ । बैंकले गत आव २०७७–७८ मा प्रत्यक्ष र अप्रत्यक्ष गरी २ अर्ब ८३ करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको विज्ञप्तिमा उल्लेख छ । यो मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं देशभरका अन्य कम्पनीको तुलनामा छैठौं ठूलो योगदान हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय