काठमाडौं– गत आर्थिक वर्षमा नाफा आर्जनका हिसाबले २७ वटा वाणिज्य बैंकमध्ये नबिल बैंक सबैभन्दा अगाडि रहेको छ । खुद नाफा सिँढीको पुछारमा सिभिल बैंक छ।
१३ अर्ब ८४ करोड, ४४ लाख ५१ हजार चुक्ता पुँजी रहेको यो बैंकले आर्थिक वर्ष २०७७–७८ मा चार अर्ब ५० करोड ४४ लाख ३९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ५४ पैसा रहेको छ ।
नाफाको दोस्रोे नम्बरमा सबभन्दा बढी चुक्ता पुँजी भएको ग्लोबल आइएमई बैंक रहेको छ । ग्लोबल आइएमईले गत आर्थिक वर्षमा चार अर्ब १२ करोड ६५ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो बैंकको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ८ पैसा छ ।
तेस्रो नम्बरमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले छ । १० अर्ब १८ करोड ४८ लाख ९१ हजार चुक्ता पुँजी रहेको यो बैंकले तीन अर्ब ७९ करोड ५४ लाख ७७ हजार रुपैयाँ नाफा कमएको छ ।
चौथो नम्बरमा सरकारी स्वामित्वकै कृषि विकास बैंक छ । यसले ३ अर्ब ६९ करोड ४४ लाख ७० हजार रुपैयाँ नाफा कमाएको छ । कृषि विकास बैंकको चुक्ता पुँजी १६ अर्ब ४२करोड २६ लाख ४१ हजार रुपैयाँ छ । यसको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ३८ पैसा छ ।
नाफाको पाँचौं नम्बरमा रहेको नेपाल इन्भेस्टमेन्ट बैंक बैंकले ३ अर्ब ६५ करोड १४ लाख ९६ हजार खुद नाफा कमाएको छ । प्राइम बैंकको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ९४ पैसा छ । त्यसपछिको बढी नाफा कमाउने एनआइसी एसिया बैंकले ३ अर्ब २५ करोड १० लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । ११ अर्ब ५६ करोड ४० लाख ५ हजार चुक्ता पुँजी रहेको बैंकको प्रतिसेयर आम्दानी २८ रुपैयाँ ११ पैसा छ ।
नेपाल बैंकले ३ अर्ब ६ करोड ५४ लाख ५७ हजार नाफा कमाएको छ । यसको चुक्ता पुँजी १२ अर्ब ६३ करोड ६७ लाख ५८ हजार रुपैयाँ छ । यसको प्रतिसेयर आम्दानी २४ रुपैयाँ २६ पैसा छ ।
त्यसैगरी, हिमालयन बैंकको नाफा २ अर्ब ९९ करोड ८० लाख छ । यसको चुक्ता पुँजी १० अर्ब ६८ करोड ४४ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी २८ रुपैयाँ ६ पैसा छ ।
१० अर्ब ९८ करोड २२ लाख ९९ हजार चुक्ता पुँजीको सिद्धार्थ बैंकले २ अर्ब ८३ करोड ६१ लाख १४ हजार रुपैयाँ नाफा गरेको छ । यसको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ८७ पैसा छ ।
एनएमबिको नाफा २ अर्ब ७३ करोड ५ लाख ९३ हजार छ । यसको चुक्तापुँजी १६ अर्ब ३२ करोड ५९ लाख ६१ हजार छ भने प्रतिसेयर आम्दानी १६ रुपैयाँ ७३ पैसा मात्रै छ ।
त्यसैगरी, मेगा बैंकले २ अर्ब ३० करोड २५ लाख ८६ हजार रुपैयाँ नाफा गरेको छ । १४ अर्ब ६५ करोड ४९ लाख ६४ हजार चुक्ता पुँजी रहेको मेगाको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ७१ पैसा छ ।
नेपाल बंगलादेश बैंकले २ अर्ब २९ करोड २५ लाख ९२ हजार रुपैयाँ नाफा गरेको छ । नौ अर्ब ४८ लाख २१ हजार चुक्ता पुँजी रहेको यो बैंकको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ४६ पैसा छ ।
सानिमा बैंकको मुनाफा २ अर्ब २७ करोड ६४ लाख ९४ हजार रुपैयाँ छ । ९ अर्ब ६८ करोड १५ लाख १९ हजार चुक्ता पुँजी रहेको सानिमाको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ९१ पैसा छ ।
११ अर्ब ३४ करोड ७० लाख ५७ हजार चुक्ता पुँजीको प्रभु बैंकले २ अर्ब १ करोड १६ लाख ५३ हजार नाफा गरेको छ । यसको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ७३ पैसा छ ।
कुमारी बैंकले २ अर्ब ११ लाख ४५ हजार रुपैयाँ नाफा गरेको छ । यसको चुक्ता पुँजी १३ अर्ब ८७ करोड ८४ लाख ७४ हजार रुपैयाँ छ भने प्रतिसेयर आम्दानी १४ रुपैयाँ ४२ पैसा मात्रै छ ।
एभरेस्ट बैंकको नाफा १ अर्ब ८२ करोड ८२ लाख ७६ हजार रुपैयाँ छ । ८ अर्ब ९३ करोड ३७ लाख १७ हजार चुक्ता पुँजीको यो बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ ५३ पैसा छ ।
माछापुच्छ्रे बैंकले १ अर्ब ६३ करोड ६ लाख ८१ हजार नाफा आर्जन गरेको छ । ९ अर्ब ५ करोड ३० लाख ९४ हजार चुक्ता पुँजीको यो बैंकको प्रतिसेयर आम्दानी १८ रुपैयाँ १ पैसा छ ।
सिटिजन्स बैंकले १ अर्ब ५९ करोड ८७ लाख ९३ हजार रुपैयाँ नाफा गरेको छ । चुक्ता पुँजी १२ अर्ब ५७ करोड ६९ लाख २३ हजार रहेको सिटिजन्सको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ७१ पैसा मात्रै छ ।
त्यसैगरी १० अर्ब ६९ करोड ५६ लाख ९० हजार चुक्ता पुँजीको लक्ष्मी बैंकले १ अर्ब ५४ करोड १३ लाख ९४ हजार रुपैयाँ नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ४१ पैसा छ ।
बैंक अफ काठमाडौंको नाफा १ अर्ब ५३ करोड ५९ लाख ७२ हजार छ । चुक्ता पुँजी ९ अर्ब ६५ करोड ८१ लाख ७६ हजार रहेको यो बैंकको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ९० पैसा छ ।
सनराइज बैंकले १ अबर्ए ५० करोड २९ लाख ९० हजार रुपैयाँ कमाएको छ । ९ अर्ब ४८ करोड ७९ लाख ४४ हजार चुक्ता पुँजीको यो बैंकको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ८४ पैसा छ ।
वाणिज्य बैंकहरुमध्ये सबैभन्दा कम चुक्ता पुँजी भएको स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा १ अर्ब ४० करोड १२ लाख ४४ हजार रुपैयाँ छ । यसको चुक्ता पुँजी ८ अर्ब ५७ करोड २२ लाख ३१ हजार र प्रतिसेयर आम्दानी १६ रुपैयाँ ३५ पैसा छ ।
एनसिसी बैंकको नाफा १ अर्ब २७ करोड १२ लाख ३३ हजार रुपैयाँ छ । यसको चुक्ता पुँजी १० अर्ब ३१ करोड ४५ लाख १६ हजार रुपैयाँ र प्रतिसेयर आम्दानी १२ रुपैयाँ ३२ पैसा छ ।
नेपाल एसबिआई बैंकको नाफा एक अबभन्दा कम छ । गत वर्ष ९६ करोड ९ लाख ६१ हजार नाफा गरेको यो बैंकको चुक्ता पुँजी ९ अर्ब ४९ करोड ३५ लाख ७७ हजार रुपैयाँ छ भने प्रतिसेयर आम्दानी १० रुपैयाँ १२ पैसामा सीमित छ ।
त्यसैगरी सेन्चुरी बैंकले पनि पौने अर्ब रुपैयाँ मात्रै नाफा कमाएको छ । यसको नाफा ७५ करोड ३७ हजार रुपैयाँ र प्रतिसेयर आम्दानी ८ रुपैयाँ ३० पैसा छ । यसको चुक्ता पुँजी ९ अर्ब ३ करोड ४४ लाख ३० हजार रुपैयाँ छ ।
सबभन्दा पुछारको सिभिल बैंकले गत आर्थिक वर्षमा ५५ करोड ९३ लाख ६८ हजार रुपैयाँ मात्र नाफा गरेको छ। यसको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ४७ पैसा छ भने चुक्ता पुँजी ८ अर्ब ६४ करोड ३६ लाख ६१ हजार रुपैयाँ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय