काठमाडौं– विद्युत् नियमन आयोगले जलविद्युत् कम्पनीको सेयरमा लगानी गर्दा १६ वटा विभिन्न बुँदामा प्रस्ट हुन सुझाएको छ ।

जलविद्युत् आयोजना प्रवर्द्धक कम्पनीहरुले सेयर मूल्य बढाउन त्रुटिपूर्ण सूचना प्रवाह गरेको समाचार सार्वजनिक भएपछि आयोगले सर्वसाधारणलाई सचेत गराउँदै विभिन्न १६ वटा बुँदामा प्रस्ट हुन सुझाएको हो ।

आयोगले त्रुटिपूर्ण सूचना प्रवाह गर्ने कम्पनीलाई कारवाही गर्ने चेतावनी पनि दिएको छ । आयोगले लगानीकर्तालाई प्रस्ट हुन सुझाएका १६ बुँदा यसप्रकार छन्ः
१. कम्पनीको नेटवर्थ चुक्ता पुँजीभन्दा कम छ कि बढी ?
२. सेयरको बजार मूल्य र प्रतिसेयर आम्दानीको अनुपात कम छ कि बढी ?
३. चालु सम्पत्ति र चालु दायित्वको अनुपात धेरै छ कि कम ?
४. तरलता अनुपात धेरै छ कि कम ?
५. निर्माणाधीन आयोजनाको हकमा कार्यप्रगति कस्तो छ ?
६. निर्माणाधीन आयोजनाको विद्युत् प्रवाह गर्ने नेपाल विद्युत् प्राधिकरणको प्रसारण लाइनको कार्यप्रगति हेर्दा सो प्रसारण लाइन आयोजनाभन्दा ढिला सम्पन्न हुन्छ कि हुँदैन ?
७. आयोजनाको कार्यप्रगतिको हिसाबले व्यापारिक उत्पादन गर्नुपर्ने मितिसम्म आयोजना निर्माण सम्पन्न हुन सक्ने वा नसक्ने ?
८. आयोजनाले बैंक, वित्तीय संस्थाको ऋणको साँवाब्याज समयमा तिरिरहेको छ कि छैन ?
९. आयोजनाको सञ्चित मुनाफा धेरै भए, नभएको ?
१०. विगतमा कम्पनीले उचित मुनाफा वितरण गरे, नगरेको ?
११. कम्पनी व्यवस्थापनसँग विद्युत् क्षेत्रको राम्रो अनुभव भए, नभएको ?
१२. आयोजनाले पूर्ण क्षमतामा विद्युत् उत्पादन गरे, गरेको ?
१३. कम्पनीको लेखापरीक्षणका क्रममा लेखापरीक्षकले गरेका टिप्पणी
१४. कम्पनीको प्रतिमेगावाट लागत अरुको तुलनामा कस्तो छ ?
१५. ऋण र स्वपुँजी अनुपात कस्तो छ ?
१६. कम्पनी लिएको ऋणको ब्याजदर कति छ ?

आयोगले नेपाल स्टक एक्सचेन्जमा सूचीकृत विद्युत् सम्बन्धी कम्पनीको सेयर मूल्यमा अस्वाभाविक वृद्धि भएको भनी विभिन्न सञ्चारमाध्यममा समाचार सम्प्रेषण भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ ।

जानाजान लगानीकर्ता झुक्याउने तथा बहकाउने प्रयोजनले त्रुटिपूर्ण सूचना प्रवाह गर्ने प्रवर्द्र्धक तथा उत्पादक कम्पनीलाई आवश्यक कारवाही गर्ने आयोगको सुझावमा उल्लेख छ । सत्त तथा निष्पक्ष सूचना प्रवाह गर्नु सूचीकृत जिम्मेवारी हो भन्दै आयोगले लगानीकर्तालाई सम्बन्धित कम्पनीको आधारभूत अवस्थाको अध्ययन गरेर मात्र लगानी गर्न सुझाएको छ ।

आयोगले कुनै पनि विद्युतसम्बन्धी कम्पनीको सेयरमा लगानी गर्दा लगानीकर्ताले सम्बन्धित प्रवर्द्धक कम्पनी तथा आयोजनाको आधारभूत अवस्थाको अध्ययन गरी निर्क्योल गर्नुपर्ने सम्झाएको छ ।

आयोगले विद्युतसम्बन्धी आयोजना एवं कम्पनीहरुको प्राविधिक तथा वित्तीय अवस्थालाई मध्यनजर गरी तथ्यपरक सूचनामा आधारित भएर उक्त सेयरले दिने वा दिन सक्ने प्रतिफलका बारेमा राम्रोसँग लेखाजोखा गरी सेयर खरिद गर्न आयोगले आग्रह गरेको छ । ‘लगानी गर्दा हुने सम्भावित मुनाफाको मूल्यांकन गर्दा त्यससँगै आउने जोखिमको पनि ध्यानपूर्वक आकलन गर्नुपर्ने लगानीकर्ता स्वयंको जिम्मेवारी हो,’ आयोगले भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय