वासिंगटन– चर्चित सामाजिक सञ्जाल ट्वीटरले गलत सूचना तथा जानकारी ट्विट गर्नेका विरुद्धमा उजुरी लिने भएको छ । गलत सूचनाको प्रवाह बढेको र त्यसले दिन प्रतिदिन नकारात्मक असर पारेको भन्दै ट्विटरले गलत सूचना प्रवाह गर्नेका विरुद्धमा उजुरी दिन मिल्ने व्यवस्था गर्न लागेको हो ।
गलत सूचना प्रवाह गर्नेका विरुद्धमा उजुरी गर्न मिल्ने व्यवस्था गरेपछि गलत सूचना प्रवाह हुने क्रम न्यूनीकरण हुने ट्विटरका सञ्चालकहरूले आशा व्यक्त गरेका छन् ।व्यक्तिगत रूपमा अपमानित गर्ने, गाली बेइज्ज्यती गर्ने, अर्काको स्वन्त्रता हनन् गर्नेजस्ता कार्यका विरुद्धमा भने विगतमा पनि उजुरी दिन पाइने व्यवस्था ट्विटरले गरेको थियो ।
गलत सूचना प्रवाह सम्बन्धमा पनि त्यही प्रक्रिया र प्रकृतिले उजुरी दिन सकिने व्यवस्था गर्न लागिएको सञ्चालकहरूले जनाएका छन् । विषेश गरेर राजनीति, जनस्वास्थ्य लगायतका विषयमा आउने गलत सूचनालाई न्यूनीकरण गर्ने ट्विटरको प्रयास हो ।
कुनै ट्विटर ह्यान्डलबाट पटकपटक गलत सूचना प्रवाह भएको पुष्टि भएमा त्यसलाई निष्क्रिय पारिदिनेसम्मको योजना ट्विटरले बनाएको जनाइएको छ ।
अहिले सुरुमा परीक्षणका रूपमा अमेरिका, अस्ट्रेलिया र दक्षिण कोरियाका प्रयोगकर्ताहरूले गलत सूचना प्रवाह गर्नेका विरुद्धमा उजुरी दिन सक्ने व्यवस्था गरिएको छ । यो सुविधा केही महिनापछि अन्य देशहरूबाट पनि उपलब्ध हुने अधिकारीहरूले जानकारी दिएका छन् ।









