काठमाडौं– संघीय संसदको अर्थ समितिले पदीय मर्यादा विपरीत सर्वोत्तम सिमेन्टको सेयर खरिदमा संलग्न नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) का पदाधिकारीलाई कारवाही गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिको यो निर्णयसँगै बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना र सञ्चालक चन्द्र ढकाल तथा नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद कारवाहीको दायरामा तानिन्छन् । नियमनकारी निकायका भएर पनि उनीहरुले व्यक्तिगत लाभ हुने गरी परिवारका सदस्यको नाममा सर्वोत्तम सिमेन्टको सेयर किनेको आरोप लाग्दै आएको छ ।

अर्थ समितिको शुक्रबारको बैठकले उक्त सेयर खरिद प्रकरणमा जोडिएका पदाधिकारीलाई कारवाही गरी सोको जानकारी गराउन निर्देशन दिने निर्णय गरेको हो ।

‘नेपाल धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीहरुले पदीय मर्यादा अनुकूल नहुने गरी अनुचित लाभ लिन गरेको भनिएको सेयर कारोबारको सम्बन्धमा अर्थ मन्त्रालयबाट अध्ययन÷छानबिन भइरहेको जानकारी माननीय मन्त्रीज्यू र अर्थसचिवबाट प्राप्त भएकोले उक्त छानबिन यथाशीघ्र सम्पन्न गरी कानुन बमोजिम आवश्यक कारबाही अगाडि बयाउन र सोको जानकारी समतिलाई गराउन अर्थ मन्त्रालयलाई निर्देशन दिने,’ समितिको निर्णयको बुँदा नम्बर २ मा भनिएको छ ।

धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले छोरीको नाममा, सञ्चालक चन्द्र ढकालले भाइको नाममा र नेप्सेका कार्यकारी चन्द्रसिंह साउदले आफन्तको नाममा सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेको फेला परेको छ ।

अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहाल र सचिव सुरेन्द्र अर्यालले हस्ताक्षर गर्दै अर्थ मन्त्रालयलाई कारवाही गर्न निर्देशन दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय