काठमाडौं– नेपालमा एक वर्षको अवधिमा ६.४४ प्रतिशत बिन्दुले वित्तीय पहुँच बढेको छ । नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनले यस्तो देखाएको हो ।
उक्त अध्ययनले देशका सात सय ५० स्थानीय तहमा बैंक, वित्तीय संस्था पुगेको र अब तीनवटामा मात्र पुग्न बाँकी रहेको पनि देखाएको छ ।
२०७७ चैत मसान्तसम्म नेपाली जनसंख्याको ६७.३४ प्रतिशतमा वित्तीय पहुँच पुगेको छ । गत वर्ष असार मसान्तसम्म वित्तीय पहुँच ६०.९ प्रतिशत थियो । अध्ययन प्रतिवेदनअनुसार निक्षेप खातालगायत विभिन्न वित्तीय सूचकले नेपालमा वित्तीय सघनता र वित्तीय पहुँचको स्थितिमा सुधार हुँदै गएको देखाएको छ ।
उक्त अध्ययन शुक्रबार सार्वजनिक गरेको केन्द्रीय बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थामा कायम निक्षेप खाताको विवरणको आधारमा अध्ययन प्रतिवेदन तयार पारिएको जनाएको छ । ‘क’, ‘ख’ र ‘ग’ वर्गका संस्थाको शाखा संख्या २०७७ चैत मसान्तमा पाँच हजार नौ सय ७८ पुगेको छ । निक्षेप खाता संख्या तीन करोड ६३ लाख ६६ हजार र कर्जा खाता संख्या १६ लाख ८२ हजार आठ सय ४५ पुगेको छ ।
कुल निक्षेप खातामध्ये प्राकृतिक व्यक्तिको हिस्सा ९३.४८ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थामा खोलिएका खातामध्ये पुरुषका ६५.२ र महिलाका ७२.३ प्रतिशत खाता सक्रिय छन् । एटिएम प्रयोगकर्तामध्ये महानगरमा प्रतिखाता एटिएम प्रयोगकर्ता २७.२८ र इन्टरनेट बैंकिङ प्रयोगकर्ता ६.४८ प्रतिशत रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । त्यस्तै गाउँपालिकामा प्रतिखाता एटिएम प्रयोगकर्ता १०.६१ र इन्टरनेट बैंकिङ प्रयोगकर्ता १.०८ प्रतिशत छन् । प्रतिखाता मोबाइल बैंकिङ प्रयोगकर्ता गाउँपालिकामा ३३.३६ प्रतिशत रहेको देखिएको छ ।
प्रतिएक लाख जनसंख्यालाई सेवा पुर्याउने बैंकको शाखा संख्या औसतमा १८.९८ प्रतिशत छ । उक्त संख्या सबैभन्दा धेरै गण्डकी प्रदेशमा ३०.२५ र सबैभन्दा कम प्रदेश नं. २ मा ९.७३ प्रतिशत छ । ग्रामीण क्षेत्रमा प्रतिलाख जनसंख्यालाई सेवा पुर्याउने बैंक तथा वित्तीय संस्थाको शाखा संख्या ८.५४ र महानगरपालिकामा ४५.७६ प्रतिशत रहेको अध्ययनले देखाएको छ ।
वाग्मती प्रदेशमा सबैभन्दा बढी बैंक खाता खुलेका छन् भने कर्णाली प्रदेशमा खाता खोल्नेको संख्या निकै कम छ । प्रतिहजार व्यक्तिमध्ये नौ सय ९८ को बैंकमा खाता रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिहजार पुरुषको एक हजार तीन सय १४ र प्रतिहजार महिलामध्ये ६ सय ८७ को मात्रै खाता रहेको देखिएको छ । सबैभन्दा धेरै वाग्मती प्रदेशमा प्रतिहजार एक हजार आठ सय दुई बैंक खाता खुलेका छन् । सबैभन्दा कम कर्णाली प्रदेशमा प्रतिहजार चार सय ५८ व्यक्तिको मात्रै खाता छ ।
कुल खातामध्ये ६७.७ प्रतिशत खाता सक्रिय रहेका छन । अध्ययनमा पुरुषकाभन्दा महिलाका खाता सक्रिय रहेको देखिएको छ । पुरुषको खाता ६५.२ र महिलाको ७२.३ प्रतिशत खाता सक्रिय छन् । ग्रामीण नगरपालिकामा ८१.५ खाता सक्रिय छन् । कुल व्यक्तिगत खाता मध्ये ९६.१५ प्रतिशत खाताको हिस्सा वयस्क व्यक्ति (१५ वर्ष भन्दा माथि) को रहेको केन्द्रीय बैंकले जनाएको छ । प्रतिलाख जनसंख्याबराबर करिब १९ प्रतिशत बैंकका शाखा उपलब्ध रहेको देखिएको छ । उक्त संख्या गण्डकी प्रदेशमा सबैभन्दा धेरै ३०.५ प्रतिशत र सबैभन्दा कम प्रदेश २ मा ९.७३ प्रतिशत रहेको छ ।
उक्त प्रतिवदेनमा युवा पुस्तामा डिजिटल भुक्तानी प्रणालीको क्रेज बढ्दै गएको पाइएकोे छ । २० वर्षभन्दा माथिका युवाले डिजिटल भुक्तानी प्रणालीको प्रयोग बढ्दै गएकाले भविष्यमा प्रविधिको माग उच्चरूपमा बढ्ने अनुमान गर्न सकिन्छ । डिजिटल भुक्तानी प्रणालीमध्ये सबैभन्दा लोकप्रिय मोबाइल बैंकिङ प्रणाली र त्यसपछि एटिएम देखिएको छ ।









