काठमाडौं– तेह्रथुम पावर कम्पनीको प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुला भएको छ ।
कम्पनीले बुधबारबाट बिक्री खुला भएको आइपिओ भदौ १३ गतेसम्म खुला हुने कम्पनीले जनाएको छ । यदि सो अवधिसम्म माग बमोजिमको आवेदन नपरेमा ढिलोमा भदौ २३ गतेसम्म सेयर निष्कासन तथा बिक्री खुला हुने कम्पनीले जनाएको छ ।
कम्पनीले १०० अंकितका दरले ८ लाख कित्ता सेयर निष्कासन गरेको छ । जसमध्ये ५ प्रतिशत अर्थात् ४० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात १६ हजार कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेका सात लाख ४४ हजार कित्ता सर्वसाधारणका लागि निष्कासन गरेको हो ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
लगानीकर्ताले आइपिओमा न्यूनतम १० कित्ता देखि अधिकतम ६० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । यसअघि कम्पनीले आयोजना प्रभावितका लागि चार लाख कित्ता सेयर निष्कासन गरिसकेको छ ।
आयोजना प्रभावितका लागि सेयर निष्कासन गरेपश्चात् कम्पनीले सर्वसाधारणका लागि ८ लाख कित्ता सेयर बिक्री गर्न लागेको हो ।
हाल कम्पनीको चुक्ता पुँजी २८ करोड रहेको छ । स्थानीयवासीलाई चार करोड र सर्वसाधारणलाई आठ करोड बराबरको आइपिओ निष्कासनपछि कम्पनीको चुक्ता पुँजी ४० करोड हुनेछ ।
सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सि–आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालय र मेरो सेयर एपमार्फतसमेत आइपिओमा आवेदन दिन सक्नेछन् ।









