काठमाडौं– सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा जोडिएका नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल धितोपत्र बोर्ड सञ्चालक समितिबाट राजीनामा दिएका छन् । उनी नेपाल उद्योग वाणिज्य संघको तर्फबाट बोर्ड सञ्चालक समितिमा थिए ।
ढकालले सेबोन सञ्चालक समिति सदस्यमा नबस्ने महासंघ नेतृत्वलाई जानकारी गराएको बताइएको छ । ढकालले महासंघ अध्यक्ष शेखर गोल्छालाई कार्यव्यस्तताको कारण देखाउँदै धितोपत्र बोर्डको सञ्चालकमा बस्न नसक्ने जानकारी गराएका हुन् ।
ढकालले बुधबारबाटै लागू हुने गरी बोर्ड सञ्चालकबाट राजीनामा दिएको महासंघले जानकारी दिएको छ । ढकालको ठाउँमा कसलाई पठाउने भन्ने टुंगो लागिनसकेको महासंघले जनाएको छ ।
सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा जोडिएका नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले मंगलबार पदबाट राजीनामा दिएका थिए ।
महासंघले धितोपत्र बोर्डलाई ढकाल सञ्चालक नरहने व्यहोरा जानकारी गराउँदै नयाँ प्रतिनिधि नियुक्त भएपछि जानकारी गराउने बेहोराको पत्र पठाउने निर्णय गरेको छ ।
ढकाल धितोपत्र बोर्डको सञ्चालक रहेकै बेला उनका भाइ हेमराज ढकालले सर्वोत्तम सिमेन्टको सेयर किनेपछि ढकालसमेत विवादमा मुछिएका थिए । यो विवादमा धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना पनि मुछिएका छन् । उनले छोरीको नाममा सर्वोत्तमको सेयर किनेका छन् । साउदले श्रीमतीको नाममा सेयर किनेका छन् ।
सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट साधारण सेयरको प्रारम्भिक सार्वजनिक निष्कासन गर्ने तयारी गरेको छ ।
संघीय संसदको अर्थ समितिले उक्त प्रकरणमा जोडिएका सबैलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । कारबाही हुनुअघि नै तीमध्ये दुईजनाले राजीनामा दिएपछि धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना नैतिक दवाबमा परेका छन् ।









