काठमाडौं– सार्वजनिक बिदाका कारण यस साता धितोपत्र बजारमा तीन दिन मात्रै सेयर कारोबार भयो । आइतबार र सोमबार सार्वजनिक बिदाका कारण बजार बन्द रह्यो । मंगलबार, बुधबार र बिहीबार सेयर कारोबार भयो । यस साता जलविद्युत् कम्पनीको सेयरमा केही दबाब देखापरेको छ ।
साताभर २३२ कम्पनीको ६ करोड ६६ लाख ६ हजार ४७५ कित्ता सेयर किनबेच भएको छ । साताभरको कारोबार रकम ४१ अर्ब ६३ करोड ८५ लाख ४६ हजार ३५६ रहेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । कारोबार भएका ती दिनमा पनि बजार उतारचढावपूर्ण अवस्थामा रह्यो ।
कारोबार भएको पहिलो दिन मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचकमा उच्च अंकको गिरावट देखियो । त्यस दिन विशेष गरी विकास बैंक र जलविद्युत् उपसमूहको सेयर मूल्य ओरालो लागेको थियो । पछिल्ला दिनमा जलविद्युत् उपसमूहको सेयरमा अस्वाभाविक चलखेल भएको भन्दै गुनासो बढेको थियो ।
विद्युत् नियमन आयोगलेसमेत सो सम्बन्धमा चासो व्यक्त गरेको थियो । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्से ५६.०३ बिन्दुले घटेर तीन हजार १२४.८७ मा ओर्लियो । यस्तै ठूला कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक १२.८१ बिन्दुले घटेर ५७७.६६ मा घटेको छ ।
यस दिन २२५ कम्पनीको दुई करोड ५३ लाख १६ हजार ८०५ कित्ता सेयर १६ अर्ब १२ करोड ४४ लाख ६८ हजार ६० मा कारोबार भयो । त्यस दिनको कारोबारपछि बजार पुँजीकरण ४३ खर्ब ६६ अर्ब ६ करोड १९ लाख १० हजार बराबरमा सीमित भएको छ । यस दिन कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको सेयर मूल्यमात्रै उकालो लाग्यो । विवरण अनुसार त्यस दिन १६ कम्पनीको सेयर मूल्य १० प्रतिशतले ओरालो लागेपछि नकारात्मक सर्किट लागेको थियो ।
मंगलबार जस्तै बुधबार पनि सेयर कारोबार मापक नेप्से उच्च बिन्दुले ओरालो लाग्यो । त्यस दिन नेप्से ४८.४४ ले घटेर तीन हजार ७६.४४ कायम भएको थियो । बुधबार सेन्सेटिभ परिसूचक ९.६७ बिन्दुले घटेर ५६७.९९ कायम भयो । नेप्सेसँगै कारोबार रकमसमेत खुम्चियो ।
२२७ कम्पनीको एक करोड ९५ लाख ९९ हजार ८९ कित्ता सेयर १२ अर्ब नौ करोड २१ लाख तीन हजार ५०४ मूल्यमा खरिद बिक्री भए । त्यस दिनको कारोबारपछि बजार पुँजीकरण ४२ खर्ब ९८ अर्ब ४० करोड ८९ लाख ६० हजार कायम भयो । त्यस दिन कारोबार भएका १३ वटै उपसमूहको सेयर मूल्यमा गिरावट आयो ।
बिहीबार नेप्सेमा दोहोरो अंकको सुधार आयो । त्यस दिन नेप्से १७.६० बिन्दुले बढेर तीन हजार ९४.०५ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.४० बिन्दुले बढेर ५७१.३९ मा पुगेको छ । नेप्सेले उचाइ प्राप्त गरे पनि कारोबार रकम भने उल्लेख्य वृद्धि भएन ।
कूल २३२ कम्पनीको दुई करोड १६ लाख ९० हजार ५८५ कित्ता सेयर १३ अर्ब ४२ करोड १९ लाख ७४ हजार ७९२ मूल्यमा खरिद बिक्री भए । साताको अन्तिम दिनको कारोबारका आधारमा ४३ खर्ब २३ अर्ब ती लाख २७ हजार ६२२ बराबरको बजार पुँजीकरण पुगेको छ । नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहको मूल्य उकालो लाग्दा आठ उपसमूहको मूल्य ओरालो लाग्यो ।
दुई दिन ओरालो लागेको नेप्सेमा सुधार आउँदा विभिन्न नौ कम्पनीको सेयरमा सकारात्मक सर्किट लाग्यो ।









