काठमाडौं– एनआइसी एसिया क्यापिटल लिमिटेडको पाँचौं वार्षिक साधारणसभा आइतबार, कम्पनीको रजिस्टर्ड कार्यालय, थापाथलीमा सम्पन्न भएको छ ।
सभाले सामान्य प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०७७–०७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०७८ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणउपर छलफल गरी पारित गरेको छ ।
सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजीको ४८ प्रतिशत (कर सहित) का दरले हुन आउने ९ करोड ६० लाख नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
सभामा क्यापिटलका अध्यक्ष कपिल ढकालले क्यापिटलले स्थापनाको ५ वर्षको छोटो अवधि मै हाल सञ्चालनमा रहेका ३० मर्चेन्ट बैंकर्समध्ये निक्षेप सदस्यतर्फ प्रथम, म्युचुअल फन्डमा दोस्रो तथा लगानी ब्यवस्थापनमा दोस्रो स्थानमा रहन सफल भएको जानकारी गराए । साथै, उनले क्यापिटलले मर्चेन्ट बैंकिङ सेवा अन्तर्गत आर्थिक वर्ष २०७७–७८ को अन्त्यसम्ममा १० वटा कम्पनीको सेयर रजिस्ट्रारसम्बन्धी सेवा प्रदान गर्दै आइरहेको एवं निष्कासन तथा बिक्री प्रबन्ध सेवाअन्तर्गत हालसम्म ७ वटा कम्पनीको प्राथमिक सेयर निष्कासन, ४ वटा कम्पनीको हकप्रद सेयर निष्कासन र १५ वटा कम्पनीको बोलकबोल मार्फत सेयर बिक्री गर्ने कार्य सम्पन्न गरेको जानकारी दिए ।
अत्याधुनिक प्रणालीको व्यावसायिक उपभोग गर्ने रणनीति अनुरुप संस्थाले डिम्याट खाता र मेरो शेयर खाता खोल्न, नविकरण गर्ने, खुलामुखी योजनाको इकाईको खरिद पूनखरिद तथा लगानी व्यवस्थापन सेवा समेत अनलाईन मार्फत गर्न सकिने व्यवस्था मिलाएको छ । साथै आगामी दिनमा लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श सेवा, खुलामुखी योजनाको इकाईको खरिद बिक्री लगायतका क्यापिटलबाट प्रदान गरिने सम्पूर्ण सेवालाई डिजिटलाइज रुपमा उपत्यका बाहिरबाट समेत अनलाइनमार्फत गर्दै लैजाने रणनीति संस्थाले लिएको विज्ञप्तिमा उल्लेख छ ।
संस्थाले प्रदान गर्ने सेवालाई छिटो छरितो बनाई ग्राहकको आवश्यकता र चाहना अनुसार सेवा उपलब्ध गराउने मुख्य उद्देश्यका साथ काठमाडौं उपत्यकाभित्र कीर्तिपुर, चावहिल र अनामनगर काठमाडौंमा शाखा कार्यालय खोली क्यापिटलको सेवा विस्तार गरेको छ । साथै निकट भविष्यमा काठमाडौं उपत्यका बाहिर समेत शाखा कार्यालय खोली क्यापिटलको सेवा विस्तार गर्ने रणनीति संस्थाले लिएको छ । संस्थाले हाल सेयर रजिस्ट्रार, निष्कासन तथा बिक्री प्रबन्ध, सेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेन्ट बैंकिङसम्बन्धी सम्पूर्ण सेवा प्रदान गर्दै आएको छ ।
एनआइसी एसिया बैंक म्युचुअल फन्ड अन्तर्गतको बन्दमुखी सामूहिक लगानी कोष योजनाहरु एनआइसी एसिया ग्रोथ फन्ड, एनआइसी एसिया ब्यालेन्सड फन्ड तथा एनआईसी एसिया सेलेक्ट–३० इन्डेक्स फन्ड र पहिलो खुलामुखी योजना एनआइसी एसिया डाइनामिक डेप्ट फनड सञ्चालन गरिरहेको छ । साथै संस्थाले पाँचौं बन्दमुखी योजना एनआइसी एसिया फेलेक्सी क्याप फन्ड सञ्चालनको अन्तिम तयारी गरिरहेको जारी विज्ञप्तिमा उल्लेख छ ।









