काठमाडौं– अर्घाखाँची सिमेन्ट लिमिटेडले अर्को वर्ष सार्वसाधारणका लागि सेयर निष्कासन (आइपिओ) गर्ने भएको छ ।

कम्पनीबाट उत्पादित अर्घाखाँची ओपिसी सिमेन्टले ४३ ग्रेड सिमेन्टको इजाजत प्राप्त गरेको गरेको विषयमा जानकारी दिन कम्पनीले जारी गरेको विज्ञप्तिमा अर्को वर्ष आइपिओ ल्याउने जानकारी पनि समेटिएको छ ।

नेपाल गुणस्तर तथा नापतौल विभागले एनएचएस–५७२ प्रमाणीकरण गरी कम्पनीलाई आज ४३ ग्रेडको प्रमाणपत्र हस्तान्तरण गरेको विज्ञप्तिमा उल्लेख हो ।

आफ्नो उत्पादनको गुणस्तर नेपाल सरकारद्वारा औपचारिक रुपमा नै प्रमाणित भएको भन्दै कम्पनीले गुणस्तरीय सिमेन्टको उत्पादन र बिक्री बितरणलाई सधैं प्राथमिकतामा राख्ने जनाएको छ ।

‘हालसम्म ३३ ग्रेड सो सहरको मान्यता पाइरहेको हाम्रो उत्पादनलाई ४३ ग्रेडको प्रमाणी करणले आम उपभोक्तालाई अर्घाखाँचीका उत्पादनहरुको प्रयोग गर्न थप निश्चिन्त बनाउने छ,’ कम्पनीका महाप्रबन्धक उद्धब कार्कीले बताए ।

गुणस्तर तथा नापतौल विभागले सिमेन्टमा उच्च गुणस्तरको सुनिश्चितता गर्ने उद्देश्यले यस वर्षदेखि एनएचएस–५७२ को अवधारणा सहित ग्रेडिङ प्रणालीलाई अघि सारेको हो ।

क्लिंकर, ओपिसी र पिपिसी सिमेन्टको उत्पादन गरिरहेको अर्घाखाँची सिमेन्ट नेपालकै सबैभन्दा ठूलो र उत्कृष्ट कम्पनीमध्येको एक भएको दाबी विज्ञप्तिमा गरिएको छ ।

गत आर्थिक वर्ष पब्लिक लिमिटेडमा परिणत भएसँगै यस कम्पनीले आइपिओमा जाने तयारी सुरु गरिसकेको छ ।

२०७५ सालदेखि आफ्नो कुल उत्पादन क्षमतालाई बढाएर प्रतिवर्ष १० लाख टन पुर्याएको कम्पनीले लगभग पूर्ण उत्पादन क्षमतामा सञ्चालन गरी तीव्र प्रतिस्पर्धा र लकडाउनको बाबजुद पनि आर्थिक वर्ष २०७७–७८ मा १८ प्रतिशतले बिक्री बढाउन सफल भएको छ ।

‘सर्वसाधारणको लागि सेयर खुलाउने विषयमा तैयारी अगाडी बढाइ रहेका छौं ।,’ कम्पनीका प्रमुख वित्त अधिकृत राजु पौडेलले भने, ‘अहिले ठ्याक्कै मिति तोक्न नसके तापनि अर्को आर्थिक वर्षभित्र सर्वसाधारणलाई सेयर जारी गरी सक्ने हिसाबले काम अगाडि बढाइरहेका छौं ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय