काठमाडौं– टोखा नगरपालिका–७ बसुन्धारा चौकीमा अन्नपूर्णा स्टोर्स प्रालि (मार्ट) ले सुपथ मूल्यमा दैनिक उपभोग्य खाद्य र ग्रोसरी सामग्रीको बिक्री सुरु गरेको छ । निम्न र मध्यम वर्गलक्षित भनिएको मार्टको टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले शनिबार उद्घाटन गरेका छन् ।

सो अवसरमा मेयर अधिकारीले टोखाका सबै वडामा स्थानीयलाई सुपथ मूल्यमा वर्षभर सेवा दिने गरी साझा पसल सञ्चालनमा ल्याउने बताए । अन्नपूर्ण मार्टसँग सहकार्य गरेर साझा पसल अवधारणा सफल पार्न सकिने अधिकारीले बताए । मार्ट उद्घाटन कार्यक्रममा टोखा नगरपालिका, वडा नम्बर ७ का वडाध्यक्ष नरोत्तम रानाले सुपथ मूल्यमा सेवा दिन मार्ट सफल हुने विश्वास व्यक्त गरे ।

मार्टबाट होलसेल मूल्यमा दैनिक उपभोग्य खाद्य र किराना सामग्री खुद्रामा उपलब्ध गराउने मार्टका प्रमुख दीपक न्यौपानेले जानकारी दिए । मार्टले अन्य मार्टहरुमा भन्दा पनि सस्तोमा गुणस्तरीय सामग्री दिने र मार्टमा आएर उक्त अनुभव गर्न सकिने सञ्चालक इश्वरदत्त जैसवालले बताए ।

कम्पनीले भैरहवामा दुईवटा मार्ट सञ्चालन गरिरहेको छ । काठमाडौंका विभिन्न ५ स्थानमा थप आउलेट स्थापना गर्ने प्रमुख न्यौपानेले बताए । मार्टमा आउने ग्राहकले अन्य मार्टमा भन्दा सस्तोमा गुणस्तरीय सामान पाएको प्रतिक्रिया दिएका छन् र यसको निरन्तरताको माग गरेका छन् । ग्राहकको विश्वासलाई पहिलो प्राथमिकता दिने मार्टका अर्का सञ्चालक राजकुमार जैसवालको भनाइ छ ।

सञ्चालकहरुले यस्ता मार्टहरुमा कृषिसँग सम्बन्धित डेरी प्रोडक्ट लगायत राख्न आवश्यक सहजीकरण गरिदिन सरकारसँग माग गरेका छन् । मार्टमा हरेक सामानमा विशेष छुट रहेको र चाडपर्वको अवसर पारेर ३ हजार रुपैयाँसम्मको खरिदमा १ केजी चिनी सित्तैमा र ५ हजार रुपैयाँसम्मको खरिदमा २ केजी चिनी सित्तैमा अफर पनि सार्वजनिक गरेको छ । मार्टमा उपलब्ध सामाग्रीहरु अन्य स्थानमा भन्दा ५ देखि २० प्रतिशतसम्म सस्तो रहेको सञ्चालक ईश्वर जैसवालको दाबी छ । अधिकतम खुद्रा मूल्यभन्दा पनि सस्तोमा सम्पूर्ण सामग्री मार्टमा उपलब्ध रहेको कम्पनीको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय