काबुल– काबुल कब्जा गरेको तीन सातापछि तालिबानले मुल्लाह मोहमद हसन अखुन्दलाई अन्तरिम सरकारका प्रधानमन्त्री घोषणा गरेका छन् । प्रधानमन्त्रीमा नियुक्त भएपछि तालिबान समूहभित्र उनी को हुन् भन्ने बारेमा चासो बढेको छ ।

मुल्लाह अखुन्द तालिवानको निर्णय गर्ने निकाय रहबारी शुरा अर्थात नेतृत्व परिषद्का प्रमुख हुन् । २६ सदस्य रहेको रहबारी शुरालाई तालिवानको उच्चतम सल्लाहकार परिषद् तथा निर्णायक समूह मानिन्छ ।

अखुन्दलाई  राष्ट्रसंघले लामो समयदेखि प्रतिबन्ध लगाएको छ । सन् १९९६ देखि सन् २००१ मा तालिबान सत्तामा हुँदा अखुन्द एकपटक विदेशमन्त्री र अर्कोपटक उपप्रधानमन्त्री भएका थिए । मुल्लाह अखुन्द लामो समयसम्म तालिबानका पूर्वप्रमुख मुल्लाह मोहमद ओमारको निकट भएर काम गरेका थिए । तालिबानको गढ मानिने कान्दाहरमा जन्मिएका अखुन्दलाई ओमारको विश्वासपात्र भएकोले राष्ट्रसंघले प्रतिबन्ध लगाएको हो ।

अखुन्द तालिबान आन्दोलनमा सम्मानित नेता हुन् । उनलाई तालिबानका प्रमुख नेता हिबतुल्लाह अखुन्जादाले समेत सम्मान गर्छन् । तालिबानको नेतृत्व संरचनामा हिबतुल्लाह शीर्ष स्थानमा छन् । उनी धार्मिक तथा सैन्य मामिलाका प्रमुख हुन् ।

अन्दाजी ६५ वर्षका अखुन्द धार्मिकभन्दा पनि राजनीतिक मामिलामा बढी जानकार मानिन्छन् । तालिबानको सैन्य रणनीतिमा पनि उनको दबदबा छ । आधुनिक अफगानिस्तानका संस्थापक अहमद साह दुर्रानीको पुर्खासँग अखुन्द जोडिएका छन् ।

अखुन्द तालिबानको निर्णय गर्ने निकाय रहबारी शुरामा महत्वपूर्ण भूमिकामा छन् । सन् २००१ मा अमेरिकी नेतृत्वको विदेशी फौजले तालिबान सत्ता अपदस्थ गरेपछि शुरा स्थापना भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय