काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले बजेटसम्बन्धी प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा प्रस्तुत गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको तेस्रो बैठकमा चालु आव २०७८–७९ को राजस्व र आयव्ययको अनुमानित आयव्यय परिमार्जनसहित प्रस्तुत गरेका हुन् ।
उक्त विधेयकमा बहुआयामिक गरिबी घटाउने, उच्च आर्थिक दर कायम गर्ने र समावेशी आर्थिक नीति अवलम्बन गर्नेलगायत महत्त्वपूर्ण विषय समावेश छ । विनियोजन विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ प्रतिनिधिसभासमक्ष प्रस्तुत गर्ने कार्यसूचीसमेत रहेको छ ।
प्रतिनिधिसभाको आजको तेस्रो बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को विरोध र नाराबाजीबीच अर्थमन्त्रीले उक्त विधेयक प्रस्तुत गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्षी दलका सांसदले यसअघि झैं उठेर रोस्ट्रम घेराउ गर्दै नाराबाजी गरेका थिए ।









