काठमाडौं– आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक श्रृंखलाअन्तर्गत नेपालले आज अमेरिकासँग एकदिवसीय खेल खेल्दै छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपाल र अमेरिकाबीचको उक्त खेल सवा ४ मा सुरु हुनेछ ।

नेपालले अमेरिकासँग खेल्नु अघि पपुवा न्युगिनीसँग दुई एकदिवसीय खेल खेलेको थियो । नेपालले दुवै खेलमा पपुवा न्युगिनीलाई पराजित गरेको थियो । अमेरिकाले पनि नेपालसँग खेल्नुअघि पपुवा न्युगिनीसँग दुई एकदिवसीय खेल खेलेको थियो । अमेरिकाले दुवै खेल जितेको थियो ।

यसअघि नेपाल र अमेरिकाबीच सन् २०२० को फेबु्रअरीमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रतिस्पर्धा भएको थियो । नेपालले दुवै खेलमा अमेरिकालाई पराजित गरेको थियो ।

आइसिसी विश्वकप क्रिकेट लिग–२ मा नेपालसहित ओमान, स्कटल्यान्ड, नामिबिया, अमेरिका, पपुवा न्युगिनी र संयुक्त अरब इमिरेट्स (युएई) गरी सात राष्ट्रबीच खेल भइरहेको छ ।

सातै राष्ट्रले सन् २०२३ सम्म प्रतिस्पर्धा गर्नेछन् । शीर्ष तीन टोली सन् २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकपका लागि ग्लोबल छनोटमा सोझै स्थान बनाउने छन् । पुछारका चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।

यसअघि लिग–२ अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग चार खेल खेलिसकेको छ । लिगमा नेपालले चार खेलमा चार अंक जोडेको छ । नेपाल छैटौं स्थानमा छ । ओमान १६ अंक जोडेर शीर्ष स्थानमा छ ।

१२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा छ । स्कटल्यान्ड नौ अंकका साथ तेस्रो, नामिबिया आठ अंकसहित चौथो, युएई सात अंक जोड्दै पाँचौं तथा पपुवा न्युगिनी अंकविहीन रहँदै पुछारमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय