काठमाडौं– बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले यही असोज ११ गतेबाट सर्वसाधारणका लागि साधारण सेयर जारी गर्ने भएको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको आठ करोड बराबरको सेयर (आइपिओ) निष्कासन गर्न लागेको हो । कम्पनीले सर्वसाधारणका लागि आठ लाख कित्ता सेयर जारी गर्ने लागेको हो ।

निष्कासन गरिने आठ लाख कित्तामध्ये पाँच प्रतिशत (४० हजार कित्ता) सामूहिक लगानी कोष र दुई प्रतिशत (१६ हजार कित्ता) कर्मचारीको लागि सुरक्षित गरेको छ । कम्पनीले बाँकी सात लाख ४४ हजार कित्ता साधारण आगामी असोज ११ गतेबाट निष्कासन गर्न लागेको हो ।

कम्पनीले सार्वजनिक गरेको विवरण पत्रअनुसार आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिन्छ ।

सर्वसाधारणले यो सेयरमा असोज १४ गतेसम्ममा आवेदन दिनुपर्ने हुन्छ । सो अवधिमा पूरा आवेदन नपरे असोज २५ गतेसम्म आवेदन दिन पाइनेछ ।

कम्पनीले आफ्नो जारी पुँजी ४० करोड रकम बराबरको ४० लाख कित्ता सेयरमध्ये ३० प्रतिशत (१२ करोड) बराबरको १२ लाख कित्ता सेयर सार्वजनिक निष्कासनको निमित्त छुट्याएको थियो । जसमा स्थानीयको लागि आवेदन गर्न जारी पुँजीको १० प्रतिशतले हुने चार लाख कित्ता सेयर गत साउन ३२ गतेदेखि भदौ १५ सम्म खुलाएको थियो ।

नुवाकोट जिल्लाको दुप्चेश्वर गाँउपालिकामा जलविद्युत् उत्पादन केन्द्र रहेको कम्पनीले ४.९९ मेगावाट क्षमताको आयोजना विकास गरिरहेको छ । यसमा प्रतिमेगावाट लागत २३ करोड ८० लाख हुने कम्पनीले जनाएको छ ।

सर्वसाधारणलाई निष्कासन गरिने सेयरका लागि क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गराउदा इक्रा नेपालले कम्पनीलाई माइनस बिबी ग्रेडिङ प्रदान गरेको छ । जसअनुसार कम्पनीको हालको अवस्था वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम रहेको बुझिन्छ ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सी आस्बा सुविधा प्रदान गर्न अनुमति पाएका सबै सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय