काठमाडौं– चिनियाँ लगानीमा खुलेको होङ्शी सिमेन्टले तीन महिनाभित्र नेपाल विद्युत प्राधिकरणको बिजुली पाउने भएको छ । अहिले राष्ट्रिय प्रसारणको बिजुली नपाउँदा उक्त उद्योगले डिजेलबाट बिजुली उत्पादन गरी प्रयोग गरिरहेको छ ।
उद्योगले नेपाल विद्युत् प्राधिकरणबाट बिजुली पाएपछि उसले तयार गर्ने सिमेन्टको उत्पादन लागत कम पर्नेछ । यसले सिमेन्टको मूल्य घटाउनमा योगदान गर्नेछ । डिजेलबाट उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणले दिनेको तुलनामा दोब्बरभन्दा बढी महँगो पर्छ ।
देशकै सबैभन्दा ठूलो सिमेन्ट उद्योगको लागत घटेसँगै उसले सिमेन्टको मूल्य घटाउने र अरु उद्योगसमेत मूल्य घटाउन बाध्य हुने हुँदा आगामी दिनमा सिमेन्टको मूल्य घट्ने अपेक्षा गरिएको छ ।
नेपाल विद्युत् प्राधिकरणले सो उद्योगका लागि निर्माण गरिरहेको बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइन आयोजनाको निर्माण केही ढिला हुने भएपछि वैकिल्पिक व्यवस्था गरी विद्युत् आपूर्ति गर्न लागेको जनाएको छ । ‘भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइनको बीच खण्डबाट ‘ट्यापिङ’ गरी होङ्शी सिमेन्टलाई विद्युत् आपूर्ति गर्न लागिएको हो,’ प्राधिकरणका कार्यकारी दिर्नेशक कुलमान घिसिङले भने ।
घिसिङले उद्योगका पदाधिकारीहरुसँग छलफल गरी तीन महिनाभित्र विद्युत् आपूर्ति गर्न सकिने भएकाले सोही अनुसार आवश्यक तयारी गर्न आग्रह गरेका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिमन्ट उद्योगसँग विद्युत् पुर्याउने घोषणा अनुसार यो लाइन बनिरहेको हो । प्रसारण लाइन नपुग्दा होङ्शी सिमेन्टले अहिले डिजेलमार्फत विद्युत् उत्पादन गरी प्रयोग गरिरहेको छ ।
उद्योगको क्षमता विस्तार गर्न लागेकाले होङ्शीलाई मात्रै करिब ८० मेगावाट विद्युत् आवश्यक पर्ने बताइएको छ । वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटान स्वीकृतिमा भएको ढिलाइ र निजी जग्गा प्राप्तिको समस्याका कारण बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइनको निर्माण पूर्ण रुपमा सम्पन्न हुन सकेको छैन ।









