विराटनगर– प्रदेश १ को विराटनगर, धरान र काकडभिट्टाबाट काठमाडौंसम्मका लागि बुलेट एसी बस सञ्चालनमा आएको छ । बुलेट एसी प्रालिले देशभरका प्रमुख सात सहरलाई राजधानी काठमाडौंसँग जोड्ने गरी सेवा सुरु गरेको हो । विराटनगर–काठमाडौंको भाडा १७५५ रुपैयाँ तोकिएको र दसैंको अवसरमा १५०० रुपैयाँमै सेवा दिने कम्पनीले जनाएको छ ।
कम्पनीले ३९ सिट क्षमताको भाइकिङ बसबाट सेवा सुरु गरेको जनाएको छ । कम्पनीले हरेक यात्रुलाई प्राथमिक स्वास्थ्य उपचारका लागि प्रयोग गरिने स्वास्थ्य किट उपलब्ध गराउने जनाएको छ ।
कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि आवश्यक पर्ने सामग्री किटमा समावेश गरिएको हुन्छ । किट उपलब्ध गराएबापत यात्रुले छुट्टै रकम बुझाउनु नपर्ने कम्पनीले जनाएको छ ।
किटमा पानी, पञ्जा, मास्क र केही रुघाखोकी लाग्दा सेवन गर्ने औषधीहरु समावेश गरिएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ । सरोज न्यौपाने र उमेश खड्का लगायतले बुलेट बस प्रालिमार्फत सातवटा बस सञ्चालनमा ल्याएका हुन् ।
१० करोड ५० लाखको लागतमा सञ्चालनमा ल्याइएको बुलेट बसमा हवाई जहाजको जस्तै सुबिधा रहेको दाबी गरिएको छ । यात्राको लागि यात्रुले अनलाइन तथा बुकिङ काउन्टरबाट टिकट लिन पाउने व्यवस्था गरिएको छ । बुलेट बस सञ्चालक समूहले २७ सिटर बस २÷१ सोफा लक्जरी सिट सहितको बसहरु सञ्चालनको तयारी समेत गरेको छ । त्यसमा भने शौचालयको सुविधा बसभित्रै हुनेछ ।










