काठमाडौं– एक्सेल डेभलपमेन्ट बैंकले दसैंको मुखमा ३० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने भएको छ । बैंकका कायम सेयर धनीले असोज २५ गतेबाट हकप्रद सेयर खरिदका लागि आवेदन दिन पाउने बैंकले जनाएको छ । यसपालिको दसैंको फूलपाती असोज २६ गते परेको छ ।
दोस्रो बजारमा उक्त बैंकको सेयर अहिले प्रति कित्ता ६७४ रुपैयाँ छ । साबिकका सेयरधनीले १०० रुपैयाँमा उक्त सेयर खरिद गर्न पाउने छन् ।
एक्सेलको चुक्तापुँजी ८१ करोड ११ लाख रुपैयाँ छ । सोको ३० प्रतिशत (२४ करोड ३३ लाख रुपैयाँको) सेयर जारी गर्न लागेको बैंकले जनाएको छ ।
उक्त सेयरका लागि कात्तिक ७ गतेसम्म आवेदन दिन पाइने छ । गत भदौ ३१ गते कायम रहेका बैंकका सेयरधनीले उक्त हकप्रद खरिदका लागि आवेदन दिन सक्नेछन् । झापको बिर्तामोडमा मुख्य कार्यालय रहेको यो बैंक पाँच जिल्ला कार्यक्षेत्र भएको ख वर्गको वित्तीय संस्था हो ।









