काठमाडौं– न्यादी हाइड्रोपावर लिमिटेडले यही असोज १५ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता सय रुपैयाँ अंकित मूल्यमा २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गर्न लागेको हो ।

निष्कासन गरिने साधारण सेयरमध्ये पाँच प्रतिशत (एक लाख १२ हजार ५०० कित्ता) सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको र दुई प्रतिशत (४५ हजार कित्ता) कर्मचारीलाई सुरक्षित गरिएको कम्पनीले जनाएको छ । बाँकी रहने २० लाख ९२ हजार ५०० कित्ता सेयर खरिदका लागि सर्वसाधारणले असोज १५ गतेदेखि आवेदन दिन सक्नेछन् ।

कम्पनीको विवरण पत्र अनुसार सर्वसाधारणले असोज १९ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । सो अवधिसम्म माग गरिए बमोजिम आवेदन नआए असोज ३१ सम्म निष्कासन खुला हुने विवरणपत्रमा उल्लेख छ ।

कम्पनीले हाल लमजुङ जिल्लाको मस्र्याङ्दी गाउँपालिकामा ३० मेगावाट क्षमताको न्यादी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । कम्पनीले आयोजना निर्माणको कूल अनुमानित लागत ६ अर्ब ११ करोड ७७ लाख ५५ हजार ५५ हुने र प्रतिमेगावाट लागत निर्माण अवधिको ब्याजसहित २० करोड ३९ लाख हुने जनाएको छ ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सिआस्बा सुविधा प्रदान गर्न अनुमति पाएका सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट सेयरका लागि आवेदन दिन सक्नेछन् । साथै अनलाइनमार्फत ‘मेरो सेयर’ प्रयोग गरेर पनि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।

धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्था अनुसार रेटिङ गर्दा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयरएनपी बिबी इस्युअर’ ग्रेडिङ प्रदान गरेको छ । रेटिङअनुसार कम्पनीको हालको अवस्था दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको भन्ने बुझिन्छ ।

कम्पनीले आफ्नो जारी पुँजी एक अर्ब ५० करोडको प्रतिसेयर रु १०० अंकित दरले हुने एक करोड ५० लाख कित्ता सेयरमध्ये १५ प्रतिशत (२२ लाख ५० हजार कित्ता) सार्वजनिक निष्कासनका निमित्त छुट्याएको थियो । आयोजना प्रभावित क्षेत्र लमजुङका बासिन्दा र संस्थापक सेयरधनी संस्थाका कर्मचारीका लागि छुट्याइएको सेयर यसअघि नै बाँडफाँट भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय