बेइजिङ– चिनियाँ प्रविधि कम्पनी ह्वावेकी प्रमुख वित्तीय अधिकृत (सिएफओ) मेङ वान्झाउ झण्डै तीन वर्षपछि शनिबार क्यानडाको नजरबन्दबाट मुक्त भएकी छिन् ।

दुईजना क्यानडेली नागरिकलाई चीनको जेलबाट मुक्त गरिएसँगै क्यानडाले उनलाई भ्यानकुवरस्थित नजरबन्दमा राखिएको घरबाट मुक्त गरेको हो । यो घटनलाई तीन वर्षदेखि दुई मुलुकबीचको सम्बन्धलाई विषाक्त बनाउँदै आएको तीतो कूटनीतिक लडाइँ अन्त्य भएको मानिएको छ ।

चीनकी मेङ तथा क्यानडाका भूतपूर्व कूटनीतिज्ञ माइकल कोभ्रिग र व्यवसायी माइकल स्पावरले पक्राउ परेको तीन वर्षपछि स्वदेश फर्कने अनुमति पाएका छन् । आलोचकहरूले उनीहरू सबैको नियन्त्रणलाई ‘बन्धक कूटनीति’ भनेका छन् ।

चीनको विशाल दूरसञ्चार कम्पनी ह्वावेका अर्बपति संस्थापक रेन झेङफेईकी ४९ वर्षीया छोरी मेङलाई अमेरिकी आग्रहमा क्यानडामा गिरफ्तार गरेपछि तीन वर्षसम्म एउटा घरमा नजरबन्दमा राखिएको थियो । भ्यानकुभर अदालतको सुनवाइपछि उनलाई शनिबार रिहा गरिएको हो ।

उनलाई संयुक्त राज्य अमेरिकाले सुपुर्दगी गर्न भनेपछि उनले आफूले कम्पनी र आफू रहेको मुलुकको कानुन अनुसार नै व्यावसायिक काम गरेकाले निःशर्त चीन फर्कन पाउनुपर्ने दाबी गर्दै अदालतमा मुद्दा लड्दै आएकी थिइन् ।

अमेरिकी अभियोजकहरुले मेङविरुद्ध ठगीको अभियोग निलम्बन गरेर अन्ततः हटाइने सम्झौता गरेको बताएको केही घन्टापछि उनलाई रिहा गरिएको हो । रिहाइपछि मेङ तुरुन्तै चीनको शेन्जेन सहर जाने उडानमा चढेकी थिइन् । सन् २०१८ को डिसेम्बर १ मा अमेरिकी अधिकारीहरूको निर्देशनमा भ्यानकुभर अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी गिरफ्तार भएदेखि पहिलोपटक चीन फर्केकी हुन् ।

यसैबीच, क्यानाडाका प्रधानमन्त्री जस्टिन त्रुदोले मेङको पक्राउको बदलामा पक्राउ परेका दुई क्यानडालीले चिनियाँ हवाई आकाश कटिसकेका र घर फर्कंदै रहेको जानकारी गराएका छन् । त्रुदोले ओटावामा भएको प्रेस सम्मेलनमा भने, ‘पत्याउनै नसकिने कठोर अनुभव’ उहाँहरूले सामना गर्नुपर्यो, उहाँहरूको विमान शनिबार क्यानडामा अवतरण हुने आशा गरिएको छ ।’

अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उनीहरूलाई ‘दुई माइकल्स’को संज्ञा दिएका थिए । ओटावाले जासुसी गरेको आरोपमा मेङलाई पक्राउ गरेको केही दिनपछि ती क्यानडाली नागरिकलाई चीनमा पक्राउ गरिएको थियो ।

बेइजिङले मेङको मुद्दालाई ‘एउटा विशुद्ध राजनीतिक घटना’ बताउँदै आएको थियो ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिकेनले उनीहरूको रिहाइपछि प्रतिक्रिया दिँदै भने, ‘अमेरिकी सरकार यस निर्णयलाई स्वागत गर्न अन्तर्राष्ट्रिय समुदायको पक्षमा उभिन्छ ।’

चीन जानुअघि संवाददातासँग कुरा गर्दै मेङले भनिन्, ‘विगत तीन वर्षमा मेरो जीवन उल्टो भएको छ । आमा, पत्नी वा मेरो कम्पनीको वित्तीय अधिकारीको हैसियतमा यो मेरो लागि तनावपूर्ण समय थियो ।’ उनले पछि आफ्नो विमानबाट चिनियाँ सामाजिक सञ्जालमा ‘पार्टी र सरकारलाई धन्यवाद’ दिँदै सन्देश पोस्ट गरेकी छिन् ।

यसैबीच, चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनिङले शनिबार मेङलाई थुनामा राख्नु ‘एक चिनियाँ नागरिकविरुद्ध राजनीतिक बदलाको भावना’ भएको बताइन् । सरकारी टेलिभिजन सिसिटिभीले चुनिङले मेङ वान्झाउविरुद्ध लगाइएको ‘ठगी’ आरोप पूरै झुटो भएको उल्लेख गरेको छ ।

यस मुद्दाको समाधानले बेइजिङ, वासिंगटन र ओटावाबीचको सम्बन्धमा देखिएको तनाव हट्ने विश्वास गरिएको छ । चीनले अमेरिकालाई आफ्नो एउटा प्रविधिको ‘टाइटन’माथि राजनीतिक आक्रमण गरेको आरोप लगाउँदै आएको छ । अमेरिकाले ह्वावेमाथि प्रविधिमार्फत ठगी गरेको आरोप लगाउने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय