काठमाडौं– केही दिनदेखि ओरालो लागिरहेको सेयर बजार सोमबार पनि ओरालै लागेको छ । यस दिन जम्मा ५ अर्ब १२ करोडको सेयर किनबेच भएको छ । विगतमा बजार चम्केको बेला एकै दिन २० अर्ब हाराहारीको कारोबार भएको थियो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से ७३ बिन्दुले घटेर २७०० तल झरेको छ । सोमबार कारोबार बन्द हुँदा नेप्से २६८५.८२ कायम भएको छ ।

ठूला लगानीकर्ता नेप्सेले ऐतिहासिक उचाइ बनाएको बेला नाफा सुनिश्चित गरेर बजारबाट बाहिरिएकोले नेप्सेको ओरालो यात्रा सुरु भएको अनुमान गरिएको छ । ठूला व्यापारी बजारमा नआउँदा कारोबार रकम समेत घटेको अनुमान गर्नेहरु पनि छन् ।

सोमबार प्रिओपनिङमा दोहोरो अंकले बढेको नेप्से बजार बन्द हुँदा ७३ बिन्दुले घट्न पुग्यो । यस दिन सबैभन्दा बढी निर्जीवन बिमा कम्पनीको सूचक ४३९ बिन्दुले घटेको छ । त्यसैगरी जीवन बिमा कम्पनीको सूचक ४३७ बिन्दुले ओर्लियो । तुलनात्मक रुपमा आकर्षक बोनस घोषणा गरिरहेको बैंकिङ समूहको सूचक पनि ४४ ले घटेको छ ।

त्यसैगरी, आएको जलविद्युत् सूचक ८० ले, माइक्रोफाइनान्स १३९ ले, उत्पादनमूलक १०४ ले, होटल तथा पर्यटन ९० ले र फाइनान्स ११२ बिन्दुले तल झरेको छ ।

यस दिन २२७ कम्पनीको १ करोड ४ लाख कित्ता सेयर खरिदबिक्री भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय