विराटनगर– स्वदेशी वस्तुको उपभोग बढाई देशलाई आत्मनिर्भर बनाउँदै सम्मुनत राष्ट्र निर्माणमा सहयोग पुर्याउने भन्दै मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले सुरु गरेको मेरो देश, मेरै उत्पादन अभियान अन्तर्गत दुवै संस्थाले तयार पारेको निमोनिक लोगो फ्रेम र प्रतिबद्धतापत्र बुधबार राष्ट्रपतिको कार्यालय शितल निवासमा राष्ट्रपतिलाई हस्तान्तरण गरिएको छ ।
उक्त अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रत्येक वर्ष मुलुकको व्यापार घाटा वृद्धि हुने क्रममा रहेको सन्दर्भमा संघ र संगठनले स्वदेशी उद्योग तथा वस्तुको बजार प्रवर्द्धनका लागि सञ्चालनमा ल्याएको यस अभियानमा आफ्नो पूर्ण साथ, सहयोग र समर्थन रहेको बताइन् ।
उनले यस अभियानमा ठूला उद्योगका साथै स–साना स्तरमा सञ्चालनमा रही वस्तु उत्पादन गर्दै राष्ट्रिय अर्थतन्त्रमा सहयोग पुर्याइरहेका कुटिर, लघु, घरेलु तथा साना एवं महिला उद्यमीको उत्पादनलाई समेत समेटी देशव्यापी रुपमा अभियानलाई सार्थक बनाउन सुझाइन् ।
स्वदेशी उत्पादनको प्रवर्द्धन गरी राष्ट्रिय आर्थिक एवं औद्योगिक विकासमा टेवा पुर्याउँदै वस्तुको उपभोग अभिवृद्धि गरी देशलाई आत्मनिर्भर बनाउने पुनित उद्देश्यले सञ्चालनमा ल्याएको मेरो देश, मेरै उत्पादन अभियानको निमोनिक लोगो उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेल र मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा नेतृत्वको संयुक्त प्रतिनिधिमण्डलले हस्तान्तरण गरेको हो ।
उक्त अवसरमा संगठनका निवर्तमान अध्यक्ष भीम घिमिरे, संघका निवर्तमान अध्यक्ष पवन शारडा, संगठनका पूर्वअध्यक्ष किशोर प्रधान, संघका पूर्व अध्यक्ष महेश जाजु, संगठनका वरिष्ठ उपाध्यक्ष प्रदीप मुरारका, संघका वरिष्ठ उपाध्यक्ष नविन रिजाल, संगठनका उपाध्यक्ष राजकुमार गोल्छा, नन्दकिशोर राठी, भोलेश्वर दुलाल र संघका उपाध्यक्ष अनुपम राठीको सहभागिता रहेको थियो ।









