काठमाडौं– साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनी वितरण गर्ने २६ प्रतिशतभन्दा बढी लाभांश पारित गर्ने साधारण सभा आगामी कात्तिक १३ गते गर्ने भएको छ ।
संस्थाले कात्तिक १३ गते गोरखामा पाँचौं वार्षिक साधारणसभा गर्ने सूचना जारी गरेको हो । उक्त सभाले हाल कायम चुक्तापुँजीको २५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ १.३१ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
उक्त सभामा अन्य कुनै लघुवित्तसँग मर्जरमा जाने अथवा अर्को संस्था प्राप्त गर्ने सम्बन्धी कामका लागि र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्तावमाथि पनि छलफल हुनेछ । सोही साधारणसभामा संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको निर्वाचन पनि हुनेछ ।
साधारणसभा प्रयोजनका लागि कात्तिक ३ गतेदेखि १३ गतेसम्म बुक क्लोज गर्ने संस्थाले जानकारी दिएको छ । कात्तिक २ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।









