काठमाडौं– धितोपत्रको दोस्रो बजार नेप्सेमा बुधबार कारोबारमा आएका १८० कम्पनीको सेयर मूल्य बढ्दा नेप्से परिसूचक ६८.४७ बिन्दुले बढेको छ ।

बजार खुल्दा २६१४.७४ रहेको नेप्से बजार बन्द हुँदा २६८१.११ बिन्दुमा पुगेको छ । यस दिन कारोबार भएकामध्ये पाँचवटा कम्पनीको मात्र मूल्य घटेको र एउटाको यथावत रहेको नेप्सेले जनाएको छ ।

कारोबार भएकामध्ये १२ वटा कम्पनीका सेयरधनीले १० प्रतिशत कमाएका छन् भने भने सातवटा सूचीकृत कम्पनीका सेयरधनीको आम्दानी ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

बेस्ट फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, ग्रामीण विकास लघुवित्त, नयाँ सारथि लघुवित्त, मिथिला लघुवित्त, किसान लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, ग्रिन डेभलपमेन्ट बैंक, सपोर्ट माइक्रोफाइनान्स, सामुदायिक लघुवित्त र सबैको लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको नेप्सेले जनाएको छ ।

त्यसैगरी, मैलुङ खोला जलविद्युत्, उन्नति सहकार्य लघुवित्त, महालक्ष्मी विकास बैंक, मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, इन्फिनिटी लघुवित्त, सिइडिबी हाइड्रोपावर र समता घरेलु लघुवित्तको मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको नेप्सेले जनाएको छ ।

यस दिन मूल्य घटेका कम्पनीको हकमा पनि थोरै मात्र घटेको छ । बुधबार सबैभन्दा बढी गुमाएको रिडी हाइड्रोपावरका सेयरधनीले २.१६ प्रतिशत घाटा बेहोर्नुपरेको छ ।

कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा निकै बढेको छ । अघिल्लो दिन २ अर्ब ९९ करोडभन्दा बढीको कारोबार भएकामा बुधबार ४ अर्ब ५० करोड नाघेको छ । कुनै बेला साढे २१ अर्बसम्म कारोबार हुने गरेको बजारमा पछिल्लो समय सेयरमूल्य घट्न थालेपछि कारोबार पनि त्यसको एक चौथाइमा सीमित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय