मुस्ताङ– दसैंलाई लक्ष्य गरी हिमालपारिको जिल्ला मुस्ताङबाट करिब १२ हजार भेडाच्यांग्रा निकासी भएका छन् । तिब्बतबाट भेडाच्यांग्रा नआएपछि विगतको तुलनामा झण्डै आधा निकासी भएका हुन् । विगतमा २० देखि २५ हजारको संख्यामा भेडाच्याग्रा निकासी हुन्थ्यो ।

निकासी भएका सबै भेडाच्यांग्रा मुस्ताङकै उत्पादन हो । करिब १२ हजारको हाराहारीमा जिल्लाबाट निकासी भएको भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र मुस्ताङका अधिकृत ऋषिराम पोखरेलले जानकारी दिए । ‘स्वास्थ्य परीक्षणमा जम्मा तीन हजार ५६० पुगेको छ, व्यापारीले संख्या घटाएर टिपाएको भए पनि जिल्लाको नाकाबाट बाहिरिएको रिपोर्टमा १२ हजारको संख्या भेडाच्यांग्रा निकासी भएका छन्,’ उनले भने ।

पशु चिकित्सकबाट स्वास्थ्य परीक्षण गराउँदा प्रतिगोटा १५ शुल्क तिर्नुपर्ने भएकाले व्यापारीले आधाको मात्रै संख्या टिपाउने गरेको पाइएको छ । भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले थासाङ गाउँपालिका, बंगुर जोन र धवलागिरि प्राविधिक शिक्षालयका पशु चिकित्सकसँग समन्वय गरेर भेडाच्यांग्राको स्वास्थ्य परीक्षण गर्ने प्रबन्ध मिलाएको थियो ।

कार्यालयका अनुसार यस वर्ष मुस्ताङबाट ठूलो संख्या च्यांग्रा र थोरै संख्यामा भेडा निकासी भएका छन् । यस वर्ष तिब्बतबाट भेडाच्यांग्रा आयात नभएका र मुस्ताङका घुम्ती गोठ तथा खोरपालेले उत्पादन गरेका भेडाच्यांग्राले माग नधान्ने भएपछि कृषक र बीचका व्यापारीले मूल्य बढाएका छन् ।

गत वर्षको तुलनामा मुस्ताङमै प्रतिगोटा पाँचदेखि १० हजारसम्म मूल्य बढेको व्यापारीले बताएका छन् । जोमसोम पुगेर २०० च्यांग्रा खरिद गरी ल्याएका सिन्धुपाल्चोकका अमरबहादुर ठकुरीले अघिल्लो वर्षको तुलनामा प्रतिगोटा पाँचदेखि ११ हजारसम्म मूल्य बढी तिर्नुपरेको बताए ।

‘अघिल्लो वर्ष प्रतिगोटा २५ हजारसम्ममा खरिद गथ्र्यौं, यस वर्ष ३५ हजारसम्म परेको छ, पोखरासम्म पु¥याएर बिक्री गर्दा ४० हजारसम्ममा बिक्री गर्ने हो,’ ठकुरीले भने । यस वर्ष डोल्पाबाट आएका चार हजार र बाँकी आठ हजार भेडाच्यांग्रा मुस्ताङको लोमान्थाङ, छोसेर, छोन्हुप, सुर्खाङ, कागबेनी, झोङ, घमी, चराङलगायत स्थानका किसानले पालेका भेडाच्यांग्रा बजारमा भित्र्याइएको छ ।

म्याग्दी, पर्वत, बागलुङ, कास्की, बुटवललगायत क्षेत्रबाट मुस्ताङ पुगेका व्यापारीले भेडाच्यांग्रा बजारमा ल्याइसकेका छन् । बजारमा रोजा भेडाच्यांग्रालाई ४५ हजारसम्म पर्ने गरेको छ । उच्च हिमाली भेगमा पालन गरिएका भेडाच्यांग्रको विशेष गरी लेकाली जडीबुटी खाने भएकाले दसैं–तिहारजस्ता पर्वमा पोसिलो मासुका रूपमा मुस्ताङका भेडा–च्यांग्राको माग बढी हुने गर्छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय