काठमाडौं– अल नेपाल सेयरहोल्डर एसोसिएसनले सर्वसाधारण लगानीकर्ताको हकहितको सुरक्षा गर्न माग गरेको छ । नेपालको पुँजी बजार विकास र विस्तारमा नीतिगत कमजोरी रहेको र त्यसले सर्वसाधारण लगानीकर्तालाई असर गर्ने जनाउँदै धितोपत्र बोर्डले कुनै एक समूहलाई मात्र फाइदा हुने गरी बनाएको बुक बिल्डिङ निर्देशिकाबाट सर्वसाधारण तथा साना लगानीकर्तालाई फाइदा नपुग्ने हुनाले निर्देशिका खारेज गर्न माग गरेको छ ।

एसोसिएसनका अध्यक्ष अशोक उप्रेतीले आज विज्ञप्ति जारी गर्दै नियामक निकायले धितोपत्र बजारमा सर्वसाधारण लगानीकर्तालाई नकारात्मक असर गर्ने कुनै किसिमको नीति बन्न नहुने बताए ।

त्यस्तै, सेयरधनीले प्राप्त गर्ने कम्पनीका लाभांश पाँच वर्षसम्म बुझी नलिए नेपाल सरकारले सो रकम लगानीकर्ता संरक्षण कोषमा राख्ने र कोषमार्फत रकम सञ्चालन गर्ने प्रावधानले लगानीकर्ताको लाभांश प्राप्त गर्ने अधिकार हनन् हुने भन्दै सो व्यवस्था संशोधन गर्न एसोसिएसनले आग्रह गरेको छ ।

‘बजारप्रति अहिले सर्वसाधारणको चासो बढिरहेको छ, करिब ४५ लाख लगानीकर्ता रहेको पुँजी बजारमा बजारप्रति विश्वसनीयता बढाउन सम्बन्धित निकायले नीतिगत सुधार गर्नुपर्ने छ,’ उप्रेतीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय