लन्डन– कन्जरभेटिभ पार्टीका सांसद सर डेभिड अमेसको आफ्नै निर्वाचन क्षेत्र इसेक्समा छुरा प्रहार गरी हत्या गरिएको छ ।

प्रहरीका अनुसार लेइघ–अन–सी चर्चामा उनीमाथि हमला भएपछि हत्याको आशंकामा एकजना २५ वर्षका पुरुषलाई पक्राउ गरिएको छ । बेलायती समय अनुसार मध्याह्न १२ः०५ बजे उनीमाथि छुरा प्रहार भएको थियो ।

प्रहरीले ती व्यक्तिबाट छुरी बरामद गरेको र उक्त घटनासँग सम्बन्ध भएको आशंकामा कसैलाई नखोजेको प्राप्त समाचारमा उल्लेख छ । आतंकवादविरोधी टोलीको नेतृत्वमा यो हत्याको छानबिन हुने बताइएको छ ।

प्रधानमन्त्री बोरिस जोन्सनले यो घटनाबाट आफू स्तब्ध र दुःखी भएको बताउँदै राजनीतिको एकजना सज्जन व्यक्ति गुमाएको प्रतिक्रिया दिएका छन् ।
गृहमन्त्री प्रिती पटेलले सबै प्रहरी बललाई सबै सांसदहरुको सुरक्षा व्यवस्थाको तत्कालै समीक्षा गर्न भनेकी छिन् ।

६९ वर्षीय सर डेभिड सन् १९८३ देखि सांसद छन् । उनका पाँच सन्तान छन् । पछिल्लो पाँच वर्षको अवधिमा मारिने उनी दोस्रो पदासीन सांसद हुन् । यसअघि लेबर पार्टीकी सांसद जो कोक्सको सन् २०१६ मा हत्या भएको थियो ।

उनी वेस्ट योर्कसायरमा पर्ने बिर्सटलको पुस्तकालयबाहिर मारिएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय