बागलुङ– अन्नबाली हुने गाउँमा बाँदरको बिगबिगीले बाँझो बनेको अदुवाबारी अहिले पर्यटकीय केन्द्र बनेको छ । केही वर्षअघिसम्म पर्वतको कुश्मा नगरपालिका–१, अदुवाबारी क्षेत्रमा कालोपाती र झाडीले भरिएको हुन्थ्यो । बाँदरको बिगबिगीका कारण अदुवा मात्रै खेती गरेका कारण अदुवाबारी भएको उक्त स्थानको अहिले मुहारै फेरिएको छ । यहाँ यही पुलका कारण पर्यटककको घुइँचो लागेको छ ।

अदुवाबारी अहिले आयआर्जनको गतिलो थलो बनेको छ । बागलुङको बांगेचौरदेखि पर्वतको पाङ अदुवाबारीसम्म विश्वकै लामो दाबी गरिएको झोलुंगे पुलले जोडिएपछि अहिले व्यावसायिक चहलपहल बढ्दो छ ।

अहिले यस क्षेत्रमा धमाधम व्यवसायहरु सञ्चालन हुन थालेका छन् । घरहरु निर्माण भइरहेका छन् । डरलाग्दो भिरमाथिको टाकुरोमा झोलुंगे पुल बनेपछि यसले पर्यटक आकर्षित गरेको छ ।

पुलले स्थानीयवासीलाई वारपारमा सहज मात्रै बनाएन, उनीहरुलाई व्यापार, व्यवसायसँग जोड्नुका साथै सिंगो धौलागिरिको पर्यटन क्षेत्रमा पनि रौनक थपेको छ ।

कालीगण्डकी नदीमा बनेको ५६७ मिटर लामो पुल पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्रका रुपमा स्थापित हुँदै आएको छ । पुलमा दैनिक ५०० भन्दा बढी आन्तरिक पर्यटक आउने गरेका छन् । मानिसको आगमन बढेसँगै पुलको पारि पर्वततर्फ व्यवसाय फस्टाउन थालेको छ । किराना पसल, होटल तथा रेस्टुरेन्टलगायत व्यवसाय गर्ने संख्या र लगानी बढ्दो छ ।

पुल निर्माणसँगै फेरिएको अदुवाबारीमा व्यवसायको राम्रो सम्भावना रहेको अदुवाबारीका होटल व्यवसायी गोपाल रिजालले बताए । उनले गत वर्षदेखि होटल सञ्चालन गरेकामा कोरोना संक्रमणका कारण केही समय नचले पनि अहिले राम्रो व्यापार हुन थालेको बताए ।

‘पहिला हामीले यो ठाउँमा यस्तो बन्ला भन्ने सोचेकै थिएनौँ, जब यहाँ पुल बन्यो, अहिले पूरै ठाउँ नै परिवर्तन भएको छ, यहाँ जग्गा हुने जग्गाधनीलाई निकै फाइदा पुगेको छ,’ उनले भने ।

स्थानीय गोम माझीले लामो पुलले अदुवाबारीको मुहारै फेरिएको बताए । यहाँ भिर रहेका कारण पहिला खासै मान्छे नआउने गरेकामा अहिले दैनिक सयौँ आउँदा पर्यटन र अरू व्यापारका सम्भावना बढेको देखिन्छ ।

पुल खुलेपछि व्यवसाय सुरु गरेका माझीले आफ्नो व्यवसाय अहिले राम्रो भएको सुनाए । पुलको मुखमै उनको पसल छ । माझीले अहिले दैनिक सयौं मानिसलाई पानी र सामान्य खाजा बेच्छन् ।

यस क्षेत्रमा व्यावसायिक रुपमा स्विङ पनि सञ्चालनमा ल्याइएको छ । पर्वतको कुश्मा नगरपालिका–१ का वडाध्यक्ष देवेन्द्र सुवेदीले यस स्थानमा पर्यटनमैत्री पूर्वाधार निर्माण गरिने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय