काठमाडौं– नेपाल राष्ट्र बैंकले साबिकको तुलनामा १० प्रतिशतभन्दा बढी ब्याददर बढाउन नपाउने सीमा तोकेपछि बुधबार नेप्से परिसूचक ६०.५६ बिन्दुले बढेको छ ।
मंगलबार २५१०.७३ बिन्दुमा बन्द भएको नेप्से बुधबार बढेर २५७१.६६ मा पुगेको छ । पछिल्लो ओरालो यात्रामा रहेको नेप्से बैंक, वित्तीय संस्थाले कात्तिक १ गतेदेखि लागू गरी उच्च दरमा कर्जाको ब्याज बढाएपछि झन् ओरालो लागेको थियो ।
आफूखुसी ब्याजदर बढाएका बैंक, वित्तीय संस्थालाई राष्ट्र बैंक अघिल्लोको तुलनामा १० भन्दा बढी प्रतिशतले बढाएको ब्याजदर समेत घटाएर १० प्रतिशतको सीमाभित्र ल्याउनुपर्ने गरी निर्देशन जारी गरेपछि भएको सेयर बजारको सकारात्मक यात्रालाई केन्द्रीय बैंककै कदमको परिणाम मानिएको छ । तर राष्ट्र बैंकको मंगलबारको निर्देशनले एकैपटक १० प्रतिशतभन्दा बढीले ब्याज नबढाए पनि केही महिनाभित्रै ब्याजदर माथि जान सक्ने बाटो नरोकेकोले उक्त निर्देशनलाई ज्यादै अल्पकालीन राहतको रुपमा मात्र हेरिनु पर्ने व्यवसायी बताउँछन् ।
नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । मंगलबार साढे ३ अर्बभन्दा बढीको सेयर किनबेच भएकोमा बुधबार २ अर्ब ६७ करोड ९० लाख रुपैयाँ बराबरको ६१ लाख १ हजार कित्ता सेयर मात्र किनबेच भएको छ ।
यस दिन २१७ कम्पनी सेयर किनबेच भएको छ । कारोबार भएका १३ वटै उपसमूहको परिसूचक बढेको छ । वित्त उपसमूहको परिसूचक सर्वाधिक ५.८१ प्रतिशत बढेको छ भने जलविद्युतको ४.३१ प्रतिशत बढेको छ । व्यापार, होटल तथा पर्यटन, विकास बैंक र अन्य उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा धेरैले बढेको छ ।
यस दिन कारोबार रकमका आधारमा नबिल बैंक शीर्ष स्थानमा छ । यो बैंकको ९ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । हिमालयन डिस्टिलरी र अरुण भ्याली हाइड्रोको ७ करोडभन्दा बढीको कारोबार भएको छ ।









