काठमाडौं– यसपालिको बेमौसमी वर्षाले सवा आठ अर्ब रुपैयाँ बराबरको धानबाली नष्ट भएको विवरण कृषि तथा पशुपक्षी विकास मन्त्रालयले सार्वजनिक गरेको छ । गृह मन्त्रालयको पछिल्लो अपडेट अनुसार दसैंको टिकाको पर्सिपल्टबाट सुरु भएको वर्षाजन्य प्रकोपमा ११७ जनाको ज्यान गएको छ भने ३२ जना बेपत्ता छन् ।

उक्त वर्षाले काटेर सुकाएको तथा काट्ने तयारीमा रहेको धानमा क्षति पुर्याएको हो । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार वर्षाले धानबालीमा ८ अर्ब २६ करोड ८० लाख रुपैयाँ बराबर क्षति भएको हो ।

सबैभन्दा बढी क्षति लुम्बिनी प्रदेशमा भएको छ । उक्त ४ अर्ब ५१ करोड बराबरको धान नष्ट भएको छ । यो कुल क्षतिको आधाभन्दा धेरै हो ।

लुम्बिनीपछि सबैभन्दा बढी क्षति सुदूरपश्चिम प्रदेशमा भएको छ । उक्त प्रदेशमा एक अर्ब ९१ करोड रुपैयाँ बरारबरको धान नष्ट भएको मन्त्रालयले जनाएको छ । सबैभन्दा कम क्षति वाग्मती प्रदेशमा भएको छ । यहाँको क्षति ५ करोड ८० लाख रुपैयाँ बराबर छ ।

तेस्रो सबैभन्दा बढी क्षति प्रदेश १ मा भएको छ । उक्त प्रदेशमा ८० करोड रुपैयाँ बराबरको धान नष्ट भएको मन्त्रालयको भनाइ छ । त्यसैगरी प्रदेश २ मा ५६ करोड रुपैयाँ बराबरको र कर्णाली प्रदेशमा ३० करोड मूल्यको धान नष्ट भएको छ । मन्त्रालयका अनुसार गण्डकी प्रदेशमा १३ करोड र वाग्मती प्रदेशमा ५ करोड ८० लाख रुपैयाँ बराबरको धान नष्ट भएको छ ।

देशभरमा ३ लाख २५ हजार २ सय ५८ मेट्रिक टन धान नष्ट भएको मन्त्रालयले जनाएको छ । वर्षाले बढी क्षति बेहोर्ने जिल्लामा झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, सर्लाही, चितवन, नुवाकोट, नवलपरासी, स्याङ्जा, रुपन्देही, बर्दिया, कपिलवस्तु, बाँके, सुर्खेत, डोल्पा, जुम्ला, सल्यान, कैलाली र कञ्चनपुर छन् ।

मन्त्रालयको अध्ययनले बेमौसमी वर्षाबाट तीन प्रदेशका १५ जिल्लाको धानखेती बढी प्रभावित भएको देखाएको छ ।

मन्त्रालयका अनुसार सबैभन्दा बढी क्षति बेहोर्नेमा लुम्बिनी प्रदेशका पाल्पा, गुल्मी, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, रुकुमपूर्व र प्युठान जिल्ला छन् । लुम्बिनी प्रदेशमा एक लाख ६१ हजार २ सय २३ मेट्रिक टन धान नष्ट भएको छ ।

त्यसैगरी, बर्दियामा ४८ हजार चार सय ६८ टन, कपिलवस्तुमा ४० हजार ६ सय ४५ मेट्रिक टन, रुपन्देहीमा २४ हजार तीन सय ६१ टन, नवलपरासीमा चार हजार एक सय २८ टन, दाङमा १० हजार सात सय ४५ टन, प्युठानमा चार हजार चार सय ३५ टन र पाल्पामा ६ सय ७८ टन धान नष्ट भएको छ ।

मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा कैलाली र कञ्चनपुरमा बढी क्षति भएको छ । कैलालीमा ५४ प्रतिशत र कञ्चनपुरमा ४२ प्रतिशत धानबाली नष्ट भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय