काठमाडौं– युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले खेल क्षेत्रमा नयाँ क्रान्ति आवश्यक रहेको बताएका छन् । मंगलबार नेपाल अन्तर्राष्ट्रिय तथा राष्ट्रिय खेलाडी संघका पदाधिकारीसँगको भेटमा मन्त्री अथकले नेपाली खेल क्षेत्रको विकासका लागि नयाँ ढंगको संघर्ष आवश्यक रहेको बताए ।

समग्र नेपाली युवा तथा खेलाडीको भविष्य निर्माणको जिम्मेवारी आफ्नो काँधमा आएको भन्दै मन्त्री अथकले सबै पक्षसँगको सहकार्यबाट खेल क्षेत्रलाई माथि उठाउन मन्त्रालयले दिर्घकालीन योजना ल्याउने तयारी गरेको जानकारी दिए । ‘खेलाडीहरु नै मेरो सबैभन्दा नजिकका सल्लाहकार हुन्,’ मन्त्री अथकले भने, ‘खेल क्षेत्रका विज्ञहरुसँगको आवश्यक परामर्शबाट मन्त्रालयको आगामी रणनिति तय गरिनेछ ।’

मन्त्री अथकलाई भेट्न मन्त्रालय पुगेका अग्रज खेलाडीहरु बैकुण्ठ मानन्धर, हरि रोका, दिपक विष्ट, संगिना वैद्य लगायतले खेलाडीको मनोबल बढ्ने गरी सेवा सुविधाको व्यवस्था मिलाउन आग्रह गरेका थिए ।

त्यस क्रममा नेपाल अन्तर्राष्ट्रिय तथा राष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठले समग्र खेलाडीको तर्फबाट विभिन्न मागसहितको ज्ञापन पत्र बुझाए । ज्ञापनपत्र बुझ्दै मन्त्री अथकले खेलाडीका उचित मागको सम्बोधन गर्दै खेल क्षेत्रलाई चुस्त दुरुस्त बनाउन लाग्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय