काठमाडौं– अघिल्लो दिन झण्डै ७९ बिन्दुले बढेको सेयर बजारमा बुधबार पनि दोहोरो अंकको सुधार देखिएको छ ।
यस दिन नेप्से सूचक १८.०६ बिन्दुले बढेर २७६९.१३ मा पुगेको छ । ओरालो लागेको सेयर बजार तीन दिनदेखि लगातार बढिरहेको छ ।
पछिल्ला दुई दिनमा कारोबार रकम समेत बढको छ । तीन अर्ब रुपैयाँभन्दा तल पुगिसकेको कारोबार रकमले मंगलबार र बुधबार ६ अर्ब नाघेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार ६ अर्ब ३१ करोड रुपैयाँको सेयर किनबेच भएकामा बुधबार बढेर ६ अर्ब ६१ करोड पुगेको छ । बुधबार सूचीकृत कम्पनीका १ करोड १५ लाख ९२ हजार २३५ कित्ता सेयर किनबेच भएको छ ।
यस दिन कारोबार रकमका आधारमा नबिल बैंक सबैभन्दा अगाडि छ । नबिलको कारोबार रकम ४३ करोड १८ लाख रुपैयाँ नाघेको छ ।
दोस्रो स्थानमा रहेको आइसिएफसी फाइनान्सको कारोबार रकम २० करोड ९२ लाख छ । त्यसैगरी, एनआइसी एसिया बैंकको १९ करोड ६१ लाखको कारोबार भएको छ ।
यस दिन सबैभन्दा बढी कमाउनेमा बेस्ट फाइनान्सका सेयरधनी परेका छन् । यो कम्पनीको सेयरमूल्य ८.६८ प्रतिशतले बढेको छ । कमाउनेको दोस्रो नम्बरमा एनआइसी एसिया लघुवित्तका सेयरधनी छन् । उनीहरुले ७.२१ प्रतिशत कमाएका छन् ।
गुमाउनेमा रैराङ हाइड्रोपावरका सेयरधनी अगाडि छन् । उक्त कम्पनीका सेयरमूल्य ४.७१ प्रतिशत घटेको छ । आँखुखोला हाइड्रोपावरको मूल्य ३.८६ प्रतिशत र सिंगटी हाइड्रोको २.८८ प्रतिशतले घटेको छ ।
बुधबार कारोबारमा भएका १३ उपसमूहमा ८ उपसमूहको सूचक बढेको छ । ४ उपसमूहको नकारात्मक र एक उपसमूहको सूचक स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।









