काठमाडौं– आइतबार सेयर बजारमा उत्साह छाउँदा सेयर बजारको सूचक नेप्से ५५.५ बिन्दुले बढेर २८३७.६२ मा पुगेको छ । यस दिन नेप्से १.९९ प्रतिशतले बढेको हो । बैंकिङ बाहेक सबै उपसमूहका सूचक बढ्दा नेप्सेमा साढे ५५ बिन्दुको सुधार आएको हो । यस दिन कारोबार रकम पनि पछिल्ला दिनको तुलनामा बढेको छ ।

यस दिन कारोबार भएका एक दर्जन कम्पनीको सेयरमूल्य ९ प्रतिशतले बढेको छ । बजार खुल्नेबित्तिकै बढको बजार त्यसपछि केही घटे पनि पछि सुधार आएर २८३७.६१ बिन्दुमा पुगेको हो । ठूला सूचीकृत कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ९.४६ बिन्दुले बढेर ५३०.४६ मा पुगेको छ ।

यस दिन ७ अर्ब ८२ करोड ३२ लाख २६ हजार ४९३ रूपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जको अभिलेखले देखाउँछ । यस दिन २३२ कम्पनीको १ करोड ३८ लाख ९९ हजार ३२२ कित्ता सेयर किनबेच भएको छ ।

कारोबारमा आएका २३२ कम्पनीमध्ये १८७ को भाउ बढेको र ३५ वटाको घटेको छ भने १० कम्पनीको मूल्यमा कुनै फेरबदल भएन ।
यस दिन अघिल्लो दिनको तुलनामा कारोबार रकम २ अर्ब ४२ करोड ८० लाख रुपैयाँले बढेको छ । गत बिहीबार गत बिहीबार ५ अर्ब ३९ करोड ५२ लाख रुपैयाँको सेयर किनबेच भएकामा आइतबार ७ अर्ब ८२ करोड ३२ लाख २६ हजार ४९३ रूपैयाँ पुगेको छ ।

एक साताअघिसम्म दैनिक कारोबार रकम ३ अर्ब रुपैयाँ हाराहारी ओर्लेको थियो । कारोबारमा आएका १३ उपसूचकमध्ये बैंकिङबाहेक सबै उपसूचक बढेका छन् । बैंकिङ भने ०.१६ प्रतिशतले घटेको छ । सबैभन्दा धेरै विकास बैंकको सूचक ६.५४ प्रतिशतले बढेको छ । व्यापार ५.९६, जलविद्युत् ५.५०, होटल ५.४४, उत्पादन ४.८८, निर्जीवन बिमा ४.८३, वित्त ३.५३ र लगानी ३.२१ प्रतिशतले बढेको स्टक एक्सचेन्जले जनाएको छ ।

आइतबारको बजारमा एक दर्जन कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढको छ । युनाइटेड इन्स्योरेन्स, चन्द्रगिरी हिल्स, सामुदायिक लघुवित्त, हिमालयन ऊर्जा विकास कम्पनी, लुम्बिनी विकास बैंक, र पाँचथर पावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यस दिन सबैभन्दा बढी गुमाउनेमा एभरेस्ट बैंकका सेयरधनी परेका छन् । कम्पनीले शुक्रबार १० प्रतिशत प्रतिफल घोषणा गरेको असर सेयर मूल्यमा परेको हो । आइतबार यस बैंकको सेयर मूल्य साढे ६ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आइतबार आँखुखोला हाइड्रोपावर कम्पनी अगाडि छ । यस कम्पनीको ३१.५७ करोडको सेयर किनबेच भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय