विराटनगर– गत कात्तिक १ देखि ३ गतेसम्म परेको अविरल वर्षाजन्य बाढीबाट सुनसरी–मोरङ, विराटनगर–कटहरी औद्योगिक करिडोरका उत्पादनमूलक उद्योग प्रतिष्ठानमा २ अर्ब ४७ करोडको ८९ लाख आठ हजार बराबरको क्षति भएको छ ।
उद्योग संगठन मोरङले गरेको अध्ययनले उक्त मात्रामा क्षति भएको देखाएको हो । संगठनले बाढीपछि सोको क्षति आँकलन गर्न स्थलगत अवलोकन तथा अनलाइनमार्फत तथ्यांक सकलन गरेको थियो ।
संगठनमा आवद्ध उद्यमीहरुसँग विवरण माग गरिएकोमा ४१ वटा प्रभावित उद्योगबाट विवरण प्राप्त भएको संगठनको भनाइ छ । ‘४१ वटा उद्योगमा २ अर्ब ४७ करोडको ८९ लाख आठ हजार बराबरको क्षति भएको छ,’ संगठनले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जसमध्ये मेसिन औजारमा ९८ करोड १७ लाख १८ हजार, कच्चा मालवस्तुमा ७१ करोड २५ लाख सत्तरी हजार, तयारी वस्तुमा ७६ करोड ४ लाख ५ हजार र सरसफाइ तथा फोहोर व्यवस्थापनमा १ करोड ७१ लाख ६५ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।’
त्यसैगरी, बाढी र डुबानका कारण उद्योग बन्द भई उत्पादन प्रक्रिया अवरुद्ध हुँदा स्थिर खर्च, प्रशासनिक खर्च लगायत खर्चहरु, उत्पादनको अवसर मूल्य तथा बजार शृंखला टुट्न गई थप ठूलो व्ययभार थपिएको छ । ४१ वटा उद्योगको दैनिक प्रशासनिक खर्च करिब ५ करोडको हाराहारीमा रहेको छ । बाढीबाट प्रभावित उद्योगमध्ये २७ वटा उद्योग एक हप्तासम्म सञ्चालनमा आउन सकेनन् भने ७ वटा उद्योगलाई अझै २ हप्ता लाग्ने र ३ वटा उद्योगलाई ४ हप्ता र ४ वटा उद्योगलाई पूर्ववत सञ्चालनमा आउन ४ हप्ताभन्दा बढी समय लाग्ने भएको संगठनको भनाइ छ ।
सबैभन्दा बढी प्रभावित उद्योगहरुको बूढीगंगा गाउँपालिकामा, त्यसपछि क्रमशः दुहबी नगरपालिका, इटहरी उपमहानगरपालिका, विराटनगर महानगरपालिका र कटहरी गाउँपालिकामा रहेको पाइएको संगठनले जनाएको छ ।
बाढीपछिको प्रभाव मूल्यांकन प्रतिवेदन २०७८ सार्वजनिक गर्ने क्रममा संगठनका अध्यक्ष सुयश प्याकुरेलले विकास निर्माणका कार्य गर्दा स्थानीय स्तरमा विषेश गरी उद्योग, व्यवसायमा पर्ने प्रभावलाई केन्द्रमा राखी गर्नुपर्ने धारणा राख्दै प्राकृतिक प्रकोपबाट उद्योगमा हुने क्षतिको न्यूनीकरणका लागी सरोकारवाला निकायको ध्यानाकृष्ट गर्ने उद्देश्यका साथ बाढीपछिको प्रभाव मूल्यांकन गरिएको बताए ।









