काठमाडौं– युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीलाई स्वागत गरेका छन् । शनिबार नेपाल फर्किएलगत्तै आइतबार सिंहदरबारस्थित मन्त्रालय पुगेका अल्मुताइरीलाई मन्त्री अथकले दोसल्ला र ढाका टोपी लगाएर स्वागत तथा सम्मान गरेका हुन् ।

नेपाली फुटबल क्षेत्रलाई नयाँ उचाइमा पुर्याउन अल्मुताइरीले पुर्याएको योगदान अतुलनीय रहेको भन्दै मन्त्री अथकले अबका दिनमा समेत गोर्खाली स्पिरिटलाई कायम राख्दै काम गर्न आग्रह गरे ।

विगतमा केही समस्या देखिए तापनि त्यसलाई चिर्दै अल्मुताइरीलाई पुनः नेपाल फर्काउन मन्त्रालय सफल भएको उल्लेख गर्दै मन्त्री अथकले भने, ‘नेपाल सरकार तपाईंको साथमा छ, ढुक्क भएर काम गर्नुहोला ।’

स्वागतपछि प्रतिक्रिया दिँदै अल्मुताइरीले नेपाल र नेपालीको मायाले आफू पुनः नेपाल फर्किएको बताए । आजको दिन आफ्नो जीवनकै अविस्मरणीय क्षण भएको भन्दै अल्मुताइरीले नेपालले आफूलाई धेरै माया दिएको बताए ।

शनिबार नेपाल फर्किएका अल्मुताइरीले थप तीन वर्ष नेपालका लागि फुटबल प्रशिक्षकका रुपमा काम गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर