काठमाडौं– आयोजना प्रभावित क्षेत्रका बासिन्दाको रुपमा दोलखाली सर्वसाधारणले किनेको अपर तामाकोसी हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरको रोक्का अवधि (लक इन पिरियड) सकिएको छ ।
योसँगै आयोजना प्रभावित क्षेत्रका बासिन्दाको हैसियतमा उक्त कम्पनीको सेयर किनेका सर्वसाधारणले दोस्रो बजार नेपाल स्टक एक्सचेन्जमार्फत सो कम्पनीको सेयर बेच्न पाउने छन् । योसँगै एक उक्त कम्पनीको एक करोड कित्ताभन्दा बढी सेयर दोस्रो बजारमा आपूर्ति हुने बाटो खुलेको छ।
कम्पनीले दोलखाका स्थानीयलाई एक करोड ५ लाख ९० हजार कित्ता सेयर बिक्री गरेको थियो । यो कम्पनीको कुल सेयरको १० प्रतिशत हो । कम्पनीले स्थानीयलाई किनेको तीन वर्षसम्म बिक्री गर्न वा अरुलाई हस्तान्तरण गर्न नपाउने गरी उक्त सेयर बिक्री गरेको थियो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले स्थानीयलाई बिक्री गरको सेयरको रोक्का अवधि कात्तिक १४ बाट सकिएको र अब उक्त कम्पनीको सेयर किनबेच गर्न सकिने व्यहोरा नेपाल स्टक एक्सचेन्जलाई जानकारी दिएका छन् ।









