काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले गणेशमान सिंह सडक मार्ग अन्तर्गत चन्द्रागिरी–चित्लाङ खण्डमा भइरहेको ढुंगा व्यापार तत्काल बन्द गरी सडक निर्माणमा तीव्रता दिने बताएका छन् ।

शुक्रबार राजधानीमा विभिन्न पर्वहरूका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उनले व्यापारका कारण भइरहेको ढिलासुस्तीको अन्त्य गर्न तत्काल पहल गर्ने बताए ।

आफूले चन्द्रागिरी–चित्लाङ खण्डमा ढुंगाको व्यापार गरिरहेको सुनेकाले त्यस्तो व्यापार तत्काल बन्द गरी काम सुचारु गर्ने मन्त्री शर्माले बताएका हुन् ।

‘चन्द्रागिरीको विकासका लागि सरकारले आफ्नो स्रोत र साधनले भ्याएसम्म म पहल र वातावरण निर्माण गर्ने प्रयत्न गर्नेछु,’ मन्त्री शर्माले भने, ‘यहाँको अहिलेको ठूलो समस्या भनेको गणेशमान सिंह मार्गको चित्लाङ खण्डमा ढिलासुस्ती भएर यो मार्ग व्यापारतिर लागेको भन्ने सुनेको छु । त्यो ढुंगाको व्यापार अन्त्य गरेर छिटोभन्दा छिटो यो सडक निर्माण गर्न मैले तत्काल पहल कदमी लिनेछु ।’

अर्थमन्त्री शर्माले काठमाडौंको ट्राफिक जामलाई कम गर्न चन्द्रागिरी क्षेत्रमा बसपार्क र सामुदायिक अस्पताल निर्माणको पहल समेत गर्ने बताए ।

यसैगरी, गरिब ऋणीहरूको ऋण चुक्ता गरिदिएर नेपाल सम्वत्को सुरुआत गर्ने शंखधर साख्वाको सपना पूरा गर्न प्रयत्न गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । ‘११४२ वर्षअघि सुरु भएको शंखधरको अभियान अझै बाँकी छ । गरिबहरूको ऋण मोचन गर्न बाँकी छ, उनीहरूलाई आत्मनिर्भर बनाउनु छ,’ उनले भने, ‘शंखधरको त्यो बेलाको सपना पूरा गर्न अझै बाँकी छ । त्यो दायित्व हाम्रो काँधमा छ । यस अभियानमा लाग्न सबैलाई आग्रह छ ।’

शंखधर साख्वालाई तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईका पालामा राष्ट्रिय विभूति घोषणा गरिएको थियो । त्यस्तै पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा नेपाल सम्वत्लाई राष्ट्रिय सम्वत्का रूपमा मान्यता दिइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय