लन्डन– इंग्लिस फुटबल क्लब एस्टोन भिल्लाले म्यानेजर डिन स्मिथलाई बर्खास्त गरेको छ । उनी नियुक्त भएको तीन वर्षपछि बर्खास्तगीमा परेका हुन् ।
भिल्ला शुक्रबार साउथाम्टनसँग ०–१ गोल अन्तरले पराजित भएपछि ५० वर्षीय स्थिम बर्खास्त भएका छन् । शुक्रबारको पराजय प्रिमियर लिगमा एस्टोन भिल्लाको लगातार पाँचौं हार हो । भिल्ला लिगमा १५ नम्बरमा छ । यो रेलिगेसन जानेभन्दा दुई बिन्दुले माथि हो ।
‘यो वर्ष हामीले परिणाम, कार्यसम्पादन र लिगको पोजिसनमा निरन्तर सुधार देखेनौं, जसको प्रतीक्षा हामी सबैलाई थियो,’ भिल्लाका प्रमुख क्रिस्टियन पुर्सलोभले भनेका छन्, ‘त्यसकारण हामीले प्रभावको लागि नयाँ प्रमुख कोचलाई समय दिन एउटा परिवर्तनको निर्णय गरेका छौं ।’
भिल्लाले स्मिथको ठाउँमा अर्को म्यानेजर ल्याउने प्रक्रिया सुरु भएको जनाए पनि तत्काल नियुक्त गर्न नहतारिने बिबिसीले जनाएको छ । तर उनको ठाउँमा डेनमार्कका कोच कास्पर ह्जुलमान्ड ल्याइन सक्ने अनुमान गरिएको छ ।
ह्जुलमान्डले युरो २०२० को सेमिफाइनलमा डेनमार्कलाई निर्देशन गरेका थिए । वेम्बलीमा भएको खेलमा डेनमार्कले इंग्ल्यान्डलाई पराजित गरेको थियो । यसले ४९ वर्षे ह्जुलमान्डको प्रतिष्ठा बढाइको बताइन्छ ।
उक्त पदका लागि अन्य नामहरुमा पनि विचारविमर्श भइरहेको प्राप्त समाचारमा जनाइएको छ । स्मिथ जागिर गुमाउने प्रिमियरका पाँचौं म्यानेजर हुन् । मिल्लाले अक्टोबर २०१८ मा स्मिथलाई म्यानेजर नियुक्त गरेको थियो ।
यसअघि टोटेनह्यामले नुनो इस्पिरितो सान्तो र नर्विचले डानिएल फार्केलाई बर्खास्त गरिसकेको छ । त्यसैगरी वाटफोर्डले सिस्को मुनोजलाई अक्टोबरमै बर्खास्त गरेको थियो । न्यु क्यासलले पनि अक्टोबर तेस्रो सातातिर म्यानेजर स्टिम ब्रुसलाई हटाएको थियो ।