काठमाडौं– ढाका कपडा र यसबाट बनेका वस्तुहरुको प्रवर्द्धन र बजारीकरण गर्ने उद्देश्यले व्यवसायीहरुको राष्ट्रिय सम्मेलन तथा दोस्रो ढाका वस्तु प्रदर्शनी आगामी पुस पहिलो साता आयोजना हुने भएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्र र नेपाल ढाका कपडा उद्योगी व्यवसायी संघको संयुक्त आयोजनामा आगामी पुस २, ३ र ४ गते काठमाडौंको बानेश्वर थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा प्रर्दशनी र सम्मेलन सम्पन्न हुँदैछ ।
विगतमा महासंघको पहलमा ढाका उद्यमी व्यवसायीहरुको छाता संस्थाको रुपमा नेपाल ढाका कपडा उद्योगी व्यवसायी संघको केन्द्रीय तदर्थ समितिलाई व्यवस्थित ढंगले अघि बढाउन केही कठिनाइ परेको विगतको अनुभवको आधारमा सो संघलाई पुनर्गठन समेत गर्ने गरी पुस २ गते देशभरका ढाका उद्योगी तथ व्यवसायीको राजधानीमा भेला आयोजना गरिन लागेको हो । यस्तै, पुस २ र ३ गते दोस्रो ढाका वस्तु प्रदर्शनी पनि आयोजना गर्ने गरी तयारी भइरहेको संघले जनाएको छ ।
परापूर्वकालदेखि चलिआएको परम्परागत उद्योग, व्यवसायहरुमध्ये नेपालको एक मौलिक उत्पादन ढाका कपडा थोरै पुँजी, परम्परागत प्रविधि र स्थानीय जनशक्तिमा आधारित छ । ढाका उद्योग व्यवसाय जुन कुनै स्थानमा पनि सजिलैसँग सञ्चालन गर्न सकिने भन्दै संघले देशको सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म सबै ग्रामीण, अर्धसहरी तथा सहरी क्षेत्रमा घरायसी एवं व्यावसायिक प्रयोजनका लागि ढाका कपडा तथा ढाका वस्तु उत्पादन र प्रयोग गर्ने कार्य हुँदै आएको छ ।
यसबाट एकातिर ग्रामीण क्षेत्रमा स्व–रोजगार तथा रोजगार एवं आय बृद्धिमा महत्त्वपूर्ण भूमिका निर्वाह भएको छ भने अर्कोतिर अन्य मुलुकहरु खास गरेर अमेरिका, जापान, जर्मनी, क्यानडा, स्विजरल्यान्ड, नेदरल्यान्ड लगायतका देशहरुमा निकासी भई वैदेशिक व्यापार घाटा न्यूनीकरण र वैदेशिक मुद्रा आर्जनमा समेत सहयोग पुगेको छ । यसले आयातित कपडालाई प्रतिस्थापन गर्न सहयोग पुर्याउँदै आएको महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले बताए ।
देशकै यस्तो महत्त्वपूर्ण मौलिक उत्पादनका खास गरेर तीनवटा महत्त्वपूर्ण पाटाहरु रहेको भन्दै उनले थपे, ‘पहिलो स्वदेशी बजारमा व्यापकता प्रदान गर्दैै विदेशबाट आयात हुने कपडाको मात्रा न्यूनीकरणमा सहयोग पुर्याउनु, दोस्रो स्थानीयस्तरमा रोजगारी सिर्जना गर्नु, ढाका वस्तु उत्पादन गरी बजारीकरण र त्यसको निकासीबाट उद्यमी तथा राष्ट्रलाई हुने लाभ र तेस्रो नेपाली मौलिक उत्पादनको विश्व वजारमा प्रचार, प्रसार र पहिचान एवं प्रवर्द्धन हुन गई फेसन उद्योगमा परम्परागत र नविन वस्तुको रुपमा स्थापित हुनु हो ।’
अहिले ढाका तथा ढाकाजन्य वस्तुको उत्पादनको गुणस्तर कायम गरी तिनको निकासी गर्न सकिने अवस्था रहेको संघको भनाइ छ । ‘अहिले पनि ढाका तथा ढाकाजन्य उत्पादनहरु निर्यात भइरहेका छन्, तर यस्ता निर्यात भएका ढाका उत्पादनहरुको लेखाजोखा र तथ्यांक राख्ने कार्य भने भएको देखिँदैन । विभिन्न शीर्षक जस्तै हस्तकलाका वस्तु वा सुती कपडा अन्तर्गत ढाकाका वस्तुहरु निर्यात भईरहेका छन् । देशभर पाँच हजारभन्दा बढी व्यवसायी छन् भने एक लाखभन्दा बढीलाई रोजगारी सिर्जना गरेको यस व्यवसायको प्रवर्द्धन र गुणस्तर अभिवृद्धिको क्षेत्रमा पनि प्रभावकारी प्रयास हुन नितान्त जरुरी भएको छ,’ संघका अध्यक्ष रमेश श्रेष्ठले भने ।
हालसम्म ढाका कपडा उत्पादनमा परम्परागत सीप शैली डिजाइन प्याटर्नको मात्र प्रयोग भइरहेकोमा अहिले आएर यसका उत्पादनहरुमा बजारको माग तथा बदलिँदो परिवेश अनुसार उत्पादन विविधीकरण कार्यको थालनी भएको छ ।
ढाका व्यवसायको वर्तमान स्थितिको विश्लेषण गरी यस व्यवसायमा देखा परेका समस्या तथा समाधानका उपायको पहिचान गरेर सम्बन्धित निकायमा रचनात्मक सुझाव दिन, ढाका बुन्न प्रयोग हुने सुती धागोमा भ्याट लगाउने कार्यका लागि विभिन्न स्वार्थ समूहबाट हुने र भइरहेको प्रयास लगायत ढाकासँग यावत विषयबारे गहन छलफल गर्न ढाका उद्यमीको राष्ट्रिय भेला बोलाउन लागिएको हो ।









