काठमाडौं– मुलुकको व्यापार घाटा ५८ प्रतिशतको उच्च दरले बढेको तथ्यांक नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ । चालु आर्थिक वर्ष २०७८–०७९ पहिलो तीन महिना (गत साउनदेखि असोजसम्म) मा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५८.३ प्रतिशतले बढेर ४१३ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ ।
यस अवधिमा कुल वस्तु निर्यात १०९.५ प्रतिशतको उच्च दरले बढे पनि निर्यातको आकार आयातको तुलनामा सानो भएकाले व्यापार घाटा निकै बढेको हो । सो अवधिमा ६५ अर्ब ५ करोड रुपैयाँ बराबरको वस्तुनिर्यात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १४.३ प्रतिशतले वृद्धि भएको थियो ।
गन्तव्यका आधारमा भारत, चीन तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः १४७.१ प्रतिशत, १९.४ प्रतिशत र २७.२ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा सोयाविन तेल, पाम तेल, पिना, धागो (पोलिस्टर तथा अन्य), जुटका सामान लगायतका वस्तुको निर्यात बढेको छ भने चिया, अलैंची, जस्तापाता, तार, आयुर्वेदिक औषधी लगायतका वस्तुको निर्यात घटेको छ ।
आर्थिक वर्ष २०७८–७९ को तीन महिनामा कुल वस्तु आयात ६३.७ प्रतिशतले वृद्धि भई ४७८ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १२.७ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ४८.४ प्रतिशत, ५५.२ प्रतिशत र १२४.२ प्रतिशतले वृद्धि भएको छ । राष्ट्र बैंकले वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, कच्चा पाम तेल, सुन लगायतका वस्तुको आयात बढेको छ भने सिमेन्ट, रासायनिक मल, दाल, मोलासिस सुगर, सुर्ती लगायतका वस्तुको आयात घटेको छ ।
निर्याततर्फ कञ्चनपुर, कृष्णनगर, मेची र नेपालगन्ज भन्सार कार्यालयबाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्पm कैलाली भन्सार कार्यालयबाहेकका नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।
आर्थिक वर्ष २०७८–७९ को तीन महिनामा कुल वस्तु व्यापार घाटा ५८.३ प्रतिशतले वृद्धि भई ४१३ अर्ब ४७ करोड पुगेको राष्ट्र बैंकको भनाइ छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १५.१ प्रतिशतले घटेको थियो । सो अवधिमा निर्यात–आयात अनुपात १३.६ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.६ प्रतिशत रहेको थियो ।
उक्त अवधिमा भारतबाट अमेरिकी डलर भुक्तानी गरी ५४ अर्ब १७ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३३ अर्ब ९२ करोड बराबरको भएको थियो ।
बृहत् आर्थिक वर्गीकरण अनुसार उक्त अवधिको कुल निर्यातमा मध्यवर्ती तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ४१.७६ प्रतिशत र ५८.२२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । पुँजीगत वस्तुको अनुपात नगन्य अर्थात ०.०३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिको कुल निर्यातमा मध्यवर्ती, पुँजीगत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ३२.६ प्रतिशत, ०.९ प्रतिशत र ६६.५ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिको कुल आयातमा मध्यवर्ती वस्तुको अनुपात ५३.० प्रतिशत, पुँजीगत वस्तुको ११.० प्रतिशत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात ३६.० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी अनुपातहरु क्रमशः ५१.२ प्रतिशत, १३.१ प्रतिशत र ३५.७ प्रतिशत थिए ।









