काठमाडौं– गत असोज मसान्तमा मुलुकको चालु खाता घाटा झण्डै १५२ अर्ब पुगेको छ । गत असोज मसान्तमा चालु खाता घाटा १५१ अर्ब ७० करोड पुगेको विवरण नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको हो ।
अघिल्लो वर्ष असोज मसान्तमा मुलुकको चालु खाता ३३ अर्ब ३८ करोडले बचतमा थियो । गत साउनदेखि असोजसम्मको अवधिमा पुँजीगत ट्रान्सफरमा ४५.९ प्रतिशतले कमी आई १ अर्ब ९२ करोड कायम भएको र खुद प्रत्यक्ष वैदेशिक लगानी ७३.५ प्रतिशतले बढेर ५ अर्ब ७ करोड पुगेको राष्ट्र बैंकको भनाइ छ ।
अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ३ अर्ब ५६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी २ अर्ब ९२ करोड थियो ।
उक्त अवधिमा शोधनान्तर स्थिति ७६ अर्ब १४ करोडले घाटामा छ । अघिल्लो वर्ष असोज मसान्तमा शोधनान्तर स्थिति १०१ अर्ब ९ करोडले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८५ करोड १० लाखले बचतमा रहेको शोधनान्तर स्थिति यस वर्ष ६४ करोड ३१ लाखले घाटामा छ ।









