काठमाडौं– घट्दो विप्रेषण, पर्यटक आगमनमा कमी, उच्च दरमा बढ्दो आयात लगायत कारण मुलुकको विदेशी विनिमय सञ्चिति डरलाग्दो स्थितिमा पुगेको छ । गत चैतमा एक वर्षभन्दा बढी अवधिको आयात धान्न पुग्ने विदेशी विनिमय सञ्चिति रहेकोमा अहिले घटेर आठ महिनाभन्दा कम अवधिका आयात धान्न पुग्ने स्थितिमा पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
गत असोज मसान्तमा विदेशी विनिमय सञ्चिति असार मसान्तको तुलनामा पौने ६ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत असार मसान्तमा १३९९ अर्ब २ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति असोज मसान्तमा १३१९ अर्ब ३२ करोड कायम भएको छ । गत चैतमा नेपालसँग १४३३ अर्ब रुपैयाँ बराबरको विदेशी विनियम सञ्चिति थियो ।
विदेशी विनिमय सञ्चितिमा कमी आउने क्रम यही अनुपातमा जारी रहने र उच्च दरको आयात कायमै रहे अत्यावश्यक वस्तु आयात गर्न आवश्यक पर्ने विदेशी मुद्राकै संकट देखा पर्ने संकेत देखिएको छ । ६ महिनाभन्दा कम अवधिको आयात धान्ने स्थितिमा विदेशी विनिमय सञ्चिति पुगेको खण्डमा डरलाग्दो मानिन्छ । अहिलेकै गति कायम रहे त्यो स्थिति आउन बेर नलाग्ने विज्ञहरु बताउँछन् ।
गत असार मसान्तमा अमेरिकी डलरमा विदेशी विनिमय सञ्चिति ११ अर्ब ७५ करोड रहेकोमा असोज मसान्तमा ६.५ प्रतिशतले घटेर १० अर्ब ९८ करोड कायम भएको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२४४ अर्ब ६३ करोड रहेकोमा २०७८ असोज मसान्तमा ८.० प्रतिशतले कमी आई ११४५ अर्ब २९ करोड कायम भएको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा १५४ अर्ब ३९ करोड रहेकोमा २०७८ असोज मसान्तमा १२.७ प्रतिशतले वृद्धि भई १७४ अर्ब ३ करोड पुगेको छ । २०७८ असोज मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.१ प्रतिशत रहेको राष्ट्र बैंकको भनाइ छ ।
आर्थिक वर्ष २०७८–७९ को तीन महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ८.६ महिनाको वस्तु आयात र ७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ । २०७८ असोज मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ उत्पादन, कुल आयात र विस्तृत मुद्रा प्रदायसँगका अनुपातहरु क्रमशः ३०.९ प्रतिशत, ६४.७ प्रतिशत र २५.१ प्रतिशत रहेका छन् । २०७८ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३२.८ प्रतिशत, ८४.७ प्रतिशत र २७.१ प्रतिशत रहेका थिए ।









