काठमाडौं– अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले कर प्रणाली र करदाताका समस्या तत्काल समाधान गर्न संयन्त्र निर्माण गर्ने बताएका छन् । बुधबार दसौं राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व विभाग लाजिम्पाटमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले समस्याको तत्काल समाधान गर्न संयन्त्र बनाइने बताएका हुन् ।

‘करदाताको गुनासा सुन्नुपर्छ । यहाँ आइसकेपछि एउटा एकाइ बनाउनुपर्ने आवश्यकता महसुस गरें,’ मन्त्री शर्माले भने, ‘तपाईंहरूले भन्नुभएको ‘झ’ झिक्नका लागि एउटा एकाइ÷संयन्त्र बनाउँछु । त्यहाँ तपाईंले गुनासो राख्न पाउनुहुन्छ ।’ उनले कहाँ र के कारणले समस्या भएको भन्ने समस्याको तत्काल समाधानका लागि संयन्त्र बनाउने बताएका हुन् ।

मन्त्री शर्माले चुहावटको सूचना दिनेलाई पुरस्कृत नगरिएको गुनासो आएको भन्दै त्यस्ता सूचना दिनेलाई तत्काल पुरस्कृत गर्न पनि आग्रह गरे । पुरस्कृत नगर्दा सूचना दिन हतोत्साहित हुने गरेको र त्यसले कर संकलनमा समेत असर गरिरहेको भन्दै उहाँले ‘इन्सेन्टिभ’ दिन छुटेकालाई समेत तत्काल दिन निर्देशन दिए ।

उनले जनताले बुझाएको करबाटै सरकारको नेतृत्वकर्ता र कर्मचारीहरू जनताको सेवा गरिरहेको बताए । त्यस्तै राजस्व व्यवस्थापनलाई आगामी दिनमा प्रविधियुक्त बनाउँदै करदातामैत्री बनाइने उनको भनाइ छ । ‘पेपरलेस’, ‘कन्ट्याक्टलेस’ बनाउने प्रक्रिया थालनी भएको भन्दै उनले सुरु गरेर मात्र नहुने, त्यसलाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘सकारात्मक कामहरू सुरु हुन्छन्, त्यो राम्रो कुरा हो । तर सम्पन्न हुनुबाट मात्र परिणाम आउँछ,’ उनले भने, ‘सुरु गरेर मात्र पुग्दैन । कर दिवसको अवसरमा सम्पन्न गर्ने प्रतिबद्धता यहाँ जनाउँछु ।’

कर दिवसमा आयोजित सो कार्यक्रमका अवसरमा मन्त्री शर्माले तीनवटा प्रतिबद्धता समेत व्यक्त गरे । उनले कर प्रशासनमा हुने झन्झटलाई तत्काल समाधान गर्न एकाइ वा संयन्त्र बनाउने, भन्सारमा ‘भेहिकल स्क्यानर’को व्यवस्था गर्ने र स्टिकर सरकार आफैंले छाप्ने प्रतिबद्धता जनाए ।

यसैगरी, अर्थसचिव मधुकुमार मरासिनीले कर जबरजस्ती नभई सुशासन र समृद्धिका लागि स्वेच्छिक राजस्व प्रणाली निर्माण गर्न करदाता र कर प्रशासन मिलेर अघि बढ्नुपर्ने बताए । उनले प्रत्येक नागरिकले तिरेको करबाटै राज्यले प्रदान गर्ने सेवा सुविधा उपलब्ध हुने भन्दै सबैलाई करदाता शिक्षा दिनुपर्ने आवश्यकता औंल्याए ।

‘शिक्षा, स्वास्थ्य, सुरक्षा लगायतका कुरा हामीले तिरेको करबाट व्यवस्था भएको छ । कतिपयलाई कर सकेसम्म नतिरौं भन्ने लाग्छ, तिर्न परे पनि कम,’ उनले भन्नुभयो, ‘यो करदाता शिक्षा र करको महत्त्वबारे हामीले मन्थन र बुझाउनुपर्ने लागेको छ ।’

कार्यक्रममा राजस्व सचिव कृष्णहरि पुस्करले कोभिड–१९ महामारीले पुर्याएको ठूलो असरमा पनि करदाताले दिएको राजस्वले मुलुकको अर्थतन्त्रलाई पुनरुत्थानमा टेवा पुगिरहेको भन्दै सबै करदातालाई धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा क्षेत्रगत उत्कृष्ट तथा सबभन्दा बढी तिर्ने करदता तथा उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय