काठमाडौं– मारुती, जगदम्बा र युनाइटेड सिमेन्ट गुणस्तरहीन भेटिएपछि गुणस्तर तथा नापतौल विभागले तीनवटै कम्पनीलाई बजार पठाएको सिमेन्ट समेत फिर्ता ल्याउन निर्देशन दिएको छ । विभागले तीनवटै उद्योगबाट उत्पादित सिमेन्टको नमुनान संकलन गरेर परीक्षण गर्दा गुणस्तरहीन भेटिएको हो ।
सिमराको मारुती सिमेन्ट उद्योगको ओपीसी ४३ ग्रेडको नमुनामा कम्प्रेसिभ स्ट्रेन्थ (एमपिए) ७ दिनको ३३ र २८ दिनको ४३ एमपिए पाइएको छ । नेपाल गुणस्तर मापदण्ड ५७२ अनुसार उक्त मान क्रमशः ३१ र ३७ हुनुपर्छ ।
विभागले मारुतीलाई उक्त ग्रेडको सिमेन्ट बिक्री वितरणमा रोक प्रतिबन्ध लगाउँदै सो ब्याचको सम्पूर्ण सिमेन्ट बजारबाट फिर्ता ल्याउन निर्देशन दिएको छ । मारुतीलाई १५ दिनभित्र स्पष्टीकरण दिन समेत विभागले निर्देशन दिएको विभागको विज्ञप्तिमा उल्लेख छ ।
युनाइटेड सिमेन्ट ओपीसी ५३ ग्रेडको कम्प्रेसिभ स्ट्रेन्थ ७ दिनको ३७६ एमपिए र २८ दिनको ५३ एमपिए रहेको पाइएको विभागले जनाएको छ । नेपाल गुणस्तर मापदण्ड ५७२ अनुसार उक्त मान क्रमशः ३५ र ३९ हुनुपर्ने विभागले जनाएको छ । युनाइटेडलाई पनि विभागले सो ग्रेडको सिमेन्ट नबेच्न र बजार पठाइसकेको हकमा फिर्ता ल्याउन भनेको छ । युनाइटेडलाई पनि १५ दिनको समय दिएर स्पष्टीकरण सोधिएको छ ।
जगदम्बा सिमेन्टको पिपिसीमा कम्प्रेसिभ स्ट्रेन्थ ३ दिनको १५ एमपिए र ७ दिनको २० एमपिए पाइएको विभागले जनाएको छ । विभागका अनुसार पिपिसीको उक्त मान क्रमशः १६ र २२ हुनुपर्छ । विभागले जगदम्बालाई पनि त्यो ब्याचको उत्पादन बेच्न रोक लगाउँदै बजार पठाइसकेको सिमेन्ट फिर्ता लिन निर्देशन दिएको छ ।









