काठमाडौं– नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) ले मंसिर ७ गतेबाट लागू हुने गरी कनेक्ट आइपिएस प्रणालीको कारोबार शुल्क हेरफेर गरेको छ । कम्पनीले नेसनल पेमेन्ट स्विचअन्तर्गत रिटेल पेमेन्ट स्विचको कार्यान्वयनलाई थप सहज बनाउन नयाँ कारोबार शुल्क तोकेको जनाएको छ ।
जस अनुसार बैंक, वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकका ग्राहकले अब कारोबार रकम अनुसार प्रतिकारोबार २ देखि ८ रुपैयाँसम्म शुल्क तिर्नुपर्नेछ । ५०० रुपैयाँसम्मको भुक्तानीमा प्रतिकारोबार २ रुपैयाँ, ५०० भन्दा माथि ५,००० रुपैयाँसम्म प्रतिकारोबार ४ रुपैयाँ र ५,००० रुपैयाँभन्दा माथिको भुक्तानीमा ८ रुपैयाँ कारोबार शुल्क लाग्ने गरी हेरफेर गरेको एचसिएचएलले जनाएको छ ।
यसले ग्राहकलाई एनसिएचएलका कनेक्ट आइपिएस वेब÷मोबाइल एप, बैंक तथा वित्तीय संस्थाका मोबाइल/इन्टरनेट बैंकिङ वालेटमा फन्ड लोड÷विथड्र लगायत विभिन्न भुक्तानी गर्न थप सहज हुने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।
कनेक्ट आइपिएसबाट सरकारी राजस्व भुक्तानी गर्दा प्रतिकारोबार २ देखि ५ रुपैयाँसम्म शुल्क लाग्छ ।
नेपाल राष्ट्र बैंकको मार्गनिर्देशन बमोजिम डिजिटल भुक्तानीलाई अझै प्रवर्द्धन गर्न एनसिएचएलले कारोबार शुल्क परिवर्तन गरेको जनाएको छ । हालै नेपाल राष्ट्र बैंकले बैंक/वित्तीय संस्थाको मोबाइल बैंकिङमा १० देखि ३० रुपैयाँसम्म मात्र कारोबार शुल्क लिन पाउने व्यवस्था गरेको छ ।
चालु आर्थिक वर्षको पहिलो चार महिनामा कनेक्ट आइपिएसमा कारोबार संख्या तथा कारोबार रकमको आधारमा २२५ प्रतिशत बढेको छ । उक्त प्रणालीमा हाल दैनिक औसत कारोबार संख्या एक लाख १७ हजार १२ तथा रकमको आधारमा दैनिक औसत ८ अर्ब ३० करोड रुपैयाँ हुने गरेको छ ।
कारोबार शुल्कमा गरिएको परिवर्तनले वैकल्पिक च्यानलमार्फत गरिने रियल टाइम भुक्तानीलाई थप टेवा पुग्ने कम्पनीले जनाएको छ ।









