काठमाडौं– सर्वोच्च अदालतले सरकारलाई नेपाल धितोपत्र बोर्डका अध्यक्षबाट भिष्मराज ढुंगानालाई बर्खास्त गर्नुको कारण सोधेको छ ।
न्यायाधीश तेजबहादुर केसीको एकल इजलाशले ढुंगानालाई बर्खास्त गर्नुपर्नाको कारण पेस गर्न सरकारको नाममा आदेश जारी गरेको हो । अदालतले रिट निवेदक ढुंगानाको माग बमोजिम अन्तरिम आदेश जारी गर्नु पर्ने कि नपर्ने विषयमा छलफल गर्न दुवै पक्षलाई बोलाएको पनि छ । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा पुनर्बहालीको माग गर्दै भिष्मराज ढुंगानाले कात्तिक ७ गते सर्वोच्चम रिट दायर गरेका थिए ।
उनले नेपाल सरकार, प्रधानमन्त्री र मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएको रिटमा आफूलाई गैरकानुनी रुपमा हटाइएको दाबी गरेका छन् ।
सर्वोत्तम सिमेन्टको सेयरको भित्री कारोबारमा पदीय मर्यादाविपरीत बदमासी गरेको भन्दै असोज १९ गतेको मन्त्रिपरिषद् बैठकले उनलाई बर्खास्त गरेको थियो ।
अर्थ मन्त्रालयको सिफारिसमा उनलाई बर्खास्त गर्ने निर्णय भएको थियो । सरकारले त्यसअघि उनलाई स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणको जवाफ चित्त बुझ्दो नभएको सरकारको भनाइ छ ।
ढुंगानामाथि लागेको आरोपमाथि जाँचबुझ गर्न सरकारले जाँचबुझ समिति समेत गठन गरेको थियो । जाँचबुझ समितिले प्रतिवेदनमा उल्लेख गरेको सिफारिसको आधारमा सरकारले ढुंगानालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।









