काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नेपाल लाइफ समुन्नत जीवन’ जीवन बिमा योजना मंगलबार सार्वजनिक गरेको छ । कम्पनीले समयसापेक्ष ग्राहकको चाहना तथा अभिकर्ताको सुझावलाई ध्यानमा राखेर नयाँ नयाँ जीवन बिमा योजना ल्याउने क्रममा नेपाल लाइफ समुन्नत जीवन जीवन बिमा योजना ल्याएको जनाएको छ । यो योजना मुनाफामा सरिक हुने सावधिक जीवन बिमा हो ।

कम्पनीले डाक्टर, इन्जिनियर, बाइक राइडर, फ्याक्ट्री वर्करदेखि लेबरसम्मका जोखिमपूर्ण पेसा अपनाउने व्यक्तिलाई लक्ष्य गरी यो योजना ल्याएको जनाएको हो । बढी जोखिमयुक्त पेसामा लागेका व्यक्तिको एउटै बिमालेखबाट अधिकतम जोखिम बहन गर्ने विशेषता भएको बिमा योजना माग भएको सर्वेक्षणले देखाएपछि कम्पनीले ‘नेपाल लाइफ समुन्नत जीवन बिमा योजना ल्याएको कम्पनीको भनाइ छ ।

यस बिमा योजनाको मुख्य आकर्षण भनेको बिमा अवधिभित्र बिमितको दुर्घटनाका कारण मृत्यु भएमा बिमांक रकमको तेब्बर र आर्जित बोनस इच्छाइएको व्यक्तिले भुक्तानी पाउने बताइएको छ ।

यो बिमालेख १८ वर्षदेखि ६० वर्ष उमेर समूहका व्यक्तिले लिन सक्ने र ५ देखि अधिकतम ३० वर्र्षसम्म अवधिको बिमा लिन सकिने कम्पनीको विज्ञप्तिमा उल्लेख छ । १८ वर्ष देखि ६० वर्षसम्मै घातक रोग उपचार खर्च योजना ऐच्छिक सुविधा लिन सकिने पनि विज्ञप्तिमा उल्लेख छ । अतिरिक्त बिमाशुल्क तिरेर बिमांक रकम बराबर वा अधिकतम ५० लाखसम्मको घातक रोग उपचार खर्च योजनामा सामेल हुन सकिने बताइएको छ ।

यो बिमालेखको बिमा समाप्ति अधिकतम ६५ वर्ष उमेरमा हुनेछ । ५० हजारदेखि एक करोडसम्मको बिमांक रकमको बिमा गर्न सकिनेछ ।

वार्षिक, अर्धवार्षिक, त्रैमासिक र मासिक रुपमा बिमा शुल्क भुक्तानी गर्न सकिने यो योजनामा वार्षिक बिमा शुल्क तिर्ने तरिका लिँदा १ प्रतिशत छुट, त्रैमासिक बिमा शुल्क तिर्ने तरिका लिँदा ३ प्रतिशत थप र मासिक बिमा शुल्क तिर्ने तरिका लिँदा ६ प्रतिशत थप लाग्ने बताइएको छ । अर्ध वार्षिक बिमा शुल्क तिर्ने तरिका लिँदा प्रिमियममा थप घट नहुने बताइएको छ ।

बिमालेख चालु रही बिमा अवधि समाप्त मितिसम्म बिमित जीवित रहेमा बिमा अवधि समाप्तिपछि बिमांक रकम प्लस आर्जित बोनस एकमुष्ठ बिमितले पाउनेछ ।
बिमालेख चालु रही बिमा अवधिभित्र जुनसुकै कारणबाट (बिमालेख अन्तर्गत नपर्ने जोखिमबाहेक) बिमितको मृत्यु भएमा कम्पनीले दुई गुणा बिमांक रकम र आर्जित बोनस एकमुष्ठ इच्छाइएको व्यक्तिलाई भुक्तानी दिनेछ ।

बिमा अवधिभित्र बिमितको दुर्घटनाको कारण मृत्यु भएमा बिमालेखमा उल्लेख भएको तीन गुणा बिमांक रकम र आर्जित बोनस रकम एकमुष्ठ बिमितको इच्छाइएको व्यक्तिलाई भुक्तानी दिइनेछ ।

कथंकदाचित बिमालेखलाई निरन्तरता दिन नसक्ने अवस्था आएमा वार्षिक ३ किस्ता बिमाशुल्क भुक्तानी गर्नुको साथै बिमा प्रारम्भ मितिबाट ३ वर्ष पूरा भएपछि समर्पण मूल्य प्राप्त हुनेछ ।

वार्षिक ३ किस्ता बिमाशुल्क भुक्तानी गर्नुको साथै बिमा प्रारम्भ मितिबाट ३ वर्ष पूरा भएपछि बिमालेख धितो राखी समर्पण मूल्यको ९० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय